नेताको पासपोर्ट रोक्का गर्ने सरकारको तयारीप्रति ओलीको आपत्ति

आश्विन ११, २०८२ | काठमाडौं

एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका नेताको पासपोर्ट रोक्का गर्ने सरकारको तयारीप्रति आपत्ति जनाउनुभएको छ । भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृसंगठन राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारलाई जिम्मा दिएर आफूहरु विदेश नभाग्ने बताउनुभयो । मुलुकलाई संवैधानिक मूलधारमा ल्याउन प्रयास गरिने उहाँले बताउनुभयो ।

अन्तरिम सरकारका केही मन्त्रीले नेताको पासपोर्ट रोक्का गर्ने विषयमा राज्यका संयन्त्रहरुले अनुसन्धान गरिरहेको बताइरहेका बेला ओलीको अभिव्यक्ति सार्वजनिक भएको हो । आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका ओलीले आन्दोलनका क्रममा राजिनामा दिनुको कारणबारे समेत बोल्नुभएको छ ।

ओलीले वर्तमान सरकार जनताको अभिमतबाट बनेको नभई तोडफोड र आगजनीबाट बनेको टिप्पणी गर्नुभयो । पार्टी नेता कार्यकर्तामाझ बोलेका ओलीले आफूबाट भएका गल्ती स्वीकार नगरेको र अझै दम्भ देखाएको भन्दै सार्वजनिक वृत्तबाट आलोचना भएको छ । यसैबीच, एमालेले भोलिका लागि सचिवालय बैठक बोलाएको छ । समसामयिक राजनीतिक परिस्थिति र निर्वाचन लगायत बिषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए । 


प्रतिक्रिया