शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न सरकारको आग्रह

आश्विन ११, २०८२ | काठमाडौं

सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । परिवर्तित अवस्थामा राजनीतिक दल र संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिरहेका बेला गृह मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढंगमा गर्न आग्रह गरेको हो ।

सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी जेनजी युवाको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै मन्त्रालयले अन्य पक्षलाई असर नपर्ने एवम् उक्साहट नहुने गरी शान्ति सुरक्षा बहालीमा सहयोग गर्न भनेको हो ।

जेन जी आन्दोलनका घाइतेलाई परिचय पत्र

सरकारले जेन जी आन्दोलनका घाइतेहरुको पहिचान गरी सहज र प्रभावकारी उपचारको व्यवस्था मिलाउने भएको छ । गृह मन्त्रालयका अनुसार घाइतेको पहिचान र उपचारका लागि सहायता कक्ष स्थापना गर्दै सम्बन्धित व्यक्तिलाई परिचयपत्र वितरण समेत गरिने भएको छ । त्यस्तै घाइतेको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा छुट्टै क्लिनिक सञ्चालन गर्ने भएको छ ।

घाइतेको वर्गीकरणका लागि उपचारमा संलग्न चिकित्सकको संयोजनमा कार्यदल गठन गर्ने समेत निर्णय भएको गृहमन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिनुभयो । घाइतेको नियमित उपचारका लागि परिचयपत्रका आधारमा स्वास्थ्य मन्त्रालयले निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । 


प्रतिक्रिया