बडा दशैंको आठौं दिन आज

आश्विन १४, २०८२ | काठमाडौं
बडा दशैंको आठौं दिन आज महागौरीको पूजा आरधना गरि मनाईदै छ । पर्वका अवसरमा मुलुकभरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ ।
महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
आजको दिन शास्त्रसम्मत रूपमा दशैं घर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।
दुर्गा सप्तशती, श्रीमद्देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ । आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ ।
कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।
आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानदेखि भीड लागेको छ ।
यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।
आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ ।
यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।