महोत्तरीको पिपरामा ८ वटा पसलमा आगजनी

आश्विन १७, २०८२ | महोत्तरी
महोत्तरीस्थित पिपरा डेकहा बजारमा दुई समूहको विवाद हुँदा पसल र सवारी साधनमा आगजनी गरिएको छ । पिपरा गाउँपालिका–१ डेकहा बजारका ८ पसलमा हिजो साँझ आगजनी भएको हो । बजार नजिकै लागेको मेलामा दुई समूहबीच विवाद भएको र विवादमा संलग्न समूहले नै ढेकहा बजारको पसलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो ।
आगजनीबाट पसलमा रहेको सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी भएका पाँचवटा पसल पूर्ण रूपमा जलेर खरानी भएका छन् । बाँकी तीनवटा पसलमा तोडफोड र लुटपाट गरिएको स्थानीयले जनाएका छन् ।
आगजनीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनापछि पीडित व्यापारीहरूले तत्काल राहत, क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।