हेलिपोर्टको अनियमितता प्रकरण : अधिकारी र भण्डारीको थुनछेक बहस आइतबार हुने

रेडियो कान्तिपुर संवाददाता

मंसिर १९, २०८२ | काठमाडौं

भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार प्रकरणमा मुछिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको बयान आज सकिएको छ । विशेष अदालतमा भएको अधिकारी र भण्डारीको बयान सकिए पनि थुनछेक बहस भने भएन । न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र विदुर कोइरालाको इजलासमा थुनछेक बहसका लागि पेशी तोकिएको थियो । 

बयान सकिएलगत्तै थुनछेक बहस हुनुपर्ने भए पनि एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि थुनछेक बहस हुन नसकेको विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिनुभयो । विशेष अदालतका अध्यक्ष पौडेलले क्यानमा महानिर्देशक रहेका अधिकारीसँग जोडिएको एक मुद्दाको फैसला उच्च अदालतमा रहँदा सुनुवाइ गरेका कारण हेर्न नमिल्ने भएको हो । 

बयान सकिएको सो मुद्दाको अर्को पेशी पर्सि आइतबारलाई तोकिएको छ । अख्तियारले अधिकारी र भण्डारीलाई बुधबार पक्राउ गरी अन्य ५ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७७ पैसा बिगो र जरिवाना असुलउपर गर्नुपर्ने मागदाबीसहित अदालतमा मुद्दा दायर भएको थियो । 


प्रतिक्रिया