५० टन क्रेन प्रयोग गरी बुद्धको एटीआर उठाइदै

पुस २०, २०८२ | झापा

झापाको भद्रपुर विमानस्थलमा धावनमार्गबाट चिप्लिएको बुद्ध एयरको एटीआर–७२ विमान हटाउन ५० टनको क्रेन प्रयोग गरिएको छ । हिजो साना क्रेनबाट जहाज निकाल्ने प्रयास असफल भएपछि आज विराटनगरबाट ५० टन क्षमताको ठूलो क्रेन झिकाएर विमान उठाउने काम भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।

उद्धारकर्मीका अनुसार, विमानलाई क्रेनमार्फत उचालेर खोल्सो पारि सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । भद्रपुर विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार, पूर्वी धावनमार्गको कुल लम्बाइ १ हजार ५ सय मिटर भए पनि हाल २८ नम्बर बिन्दुबाट करिब १ सय मिटर घटाएर मात्रै उडान सञ्चालन भइरहेको छ ।

घटनास्थलबाट प्राप्त विवरण अनुसार, दुर्घटनाग्रस्त विमान धावनमार्गको अन्तिम बिन्दुभन्दा करिब डेढ सय मिटर अगाडि खोल्सोमा धसिएको छ ।

जोखिम न्यूनीकरणका लागि विमानभित्रका सबै ७२ सिट निकालेर चौरमा राखिएको छ भने करिब १ हजार २ सय किलो इन्धन सुरक्षित रूपमा राखिएको छ । बुद्ध एयरले हिजो काठमाडौंबाट १८ जना प्राविधिकसहितको उद्धार टोली अर्को एटीआर विमानमार्फत भद्रपुर पठाएको थियो । 


प्रतिक्रिया