धनगढीमा 'रेडियो अन ह्वील्स' सम्पन्न, भरतबहादुरले जिते टी—२० विश्वकपको प्याकेज
पुस २०, २०८२ | धनगढी
रेडियो कान्तिपुरको रोड शो 'रेडियो अन ह्वील्स' धनगढीमा आइतबार सम्पन्न भएको छ । स्थानीय पार्क मोडमा आयोजित कार्यक्रममा धनगढी—११ बेला का भरतबहादुर चन्दले भारतमा फेब्रुअरीमा हुने टी—२० विश्वकपको टिकटसहित आकर्षक प्याकेज जिते ।
विजेता घोषणाका लागि आयोजित लक्की ड्र का समय उनी उपस्थित नभएपछि फोनबाट कुराकानी गरेर उनलाई विजेता भएको जानकारी गराइएको थियो । घरायासी कामले चाँडै निस्किनु परेको भन्दै उनले थकथक माने । तर, उनले विश्वकप हेर्ने धोको पूरा हुने भएकोमा सन्तोष प्रकट गरे ।

धनगढीलाई क्रिकेटको शहर पनि भनिन्छ । कार्यक्रमको टाइटल स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिङ्क्स र म्याक्स टाइगरले रोड शो आयोजना हुने मुलुकका १५ वटा शहरमा प्रत्येक स्थानबाट १—१ जना भाग्यशाली विजेतालाई ४ रात ५ दिनको विश्वकप प्याकेज उपलब्ध गराउँदै आएको छ । विश्वकप क्रिकेटको टिकटसहितको आकर्षक प्याकेजका कारण चिसोको समेत परवाह नगरी धनगढीमा कार्यक्रमको अन्त्यसम्म दर्शक श्रोताको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले दर्शकलाई पेट मिचिमिच हसाउनुका साथै केही प्यारोडी गीत समेत सुनाएका थिए । रोसिका राउत र वर्षा फुयाँलले दर्शकहरुलाई नचाएको कार्यक्रममा गायक विश्व नेपालीले आफ्ना एक दर्जन बढी हिट गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा गायक शिव परियारले पोखराबाट सहभागिता जनाउने छन् ।
रोड शो को सातौं संस्करण शनिबार नेपालगन्जको बी.पी चोकबाट शुरु भएको हो । सोमबार दिउँसो सुर्खेतको घण्टाघरचोकमा कार्यक्रम आयोजना गरिने रेडियोले जनाएको छ । श्रोतासँग सम्बन्ध विस्तार र उनीहरुको सक्रिय सहभागिताका लागि रेडियोले वर्षेनी रोड शो कार्यक्रम गर्दै आएको छ ।









