ग्यास सिलिन्डर बिस्फोट हुँदा ९ जना नेपालीको मृत्यु
पुस २९, २०८२ | सल्यान
भारतको हिमाचल प्रदेशको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा आगलागीसँगै ग्यास सिलिन्डर बिस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ ।
घटनामा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका नौ जनाको मृत्यु भएको हाम्रा सहकर्मी विप्लव महर्जनले जनाएका छन् ।
राती सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर सबै पडकिएको थियो ।
घटनामा ३३ वर्षीय धनबहादुर बिक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी राधा विक र रेनुका विक तथा छोरा राजन विकको मृत्यु भएको हो ।
त्यस्तै ४७ वर्षीय काशिराम विक, ३२ वर्षीया टीका विक, १२ वर्षीया अनु बिक र ७ वर्षीय किरण विकको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
धनबहादुर बिक र काशिराम विकका परिवार पसलदेखि माथिको कोठामा बस्दै आएका र कामबाट फर्केर सुतेको बेला घटना भएको हो ।
घटनापछि चार जना भने भागेर बच्न सफल भएको प्रेम विकले जानकारी दिनुभयो ।
दुई परिवारका नौ जनाको मृत्यु भएपछि अहिले वडा पुरै शोकमा डुबेको र आज त्यहाँ शोक विदा दिइएको छ ।









