सप्तरी विस्फोट घटना : एक महिना अघि अभ्यास गरेर फर्किएको थियो सेना
माघ २४, २०८२ | सप्तरी
सप्तरीको रुपनी गाउँपालिका–६ मा शंकास्पद वस्तु विस्फोट भएर ४ जना बालक घाइते भएको स्थलनजिकै एक महिनाअघि नेपाली सेना अभ्यास गरेर फर्किएको खुलेको छ । खोला छेउकै सामुदायिक वन नेपाली सेना बरख गण राजविराजको अभ्यासस्थल हो । सो स्थानमा सेनाले बेला–बेला विस्फोटक अभ्यास गर्दै आएको छ ।
पछिल्लो पटक एक महिनाअघि अभ्यास गरेर त्यहाँबाट सेना फर्किएको थियो । आज सामुदायिक वन नजिकै दुधैला खोलामा वनभोज खान पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए ।
चुल्हो नजिक राखिएको सो खेलौना अचानक विस्फोट भएको बताईएको छ । विस्फोटको छर्रा लागेर सोही ठाउँका साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षको छोरा सुरज घाइते भएका थिए ।
घाइतेलाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि रेफर गरेर छिन्नमस्ता अस्पताल राजविराज लगीएको छ । यसैबिच नेपाली सेना बरख गण राजविराजका प्रमुख सेनानी सोबित बहादुर चन्दले घटना भएको स्थलमा पुगेर अनुसन्धान गरिरहेको बताउनु भएको छ ।








