फागुन १८ गते रातिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइन्न

फाल्गुन १४, २०८२

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न सात वटा निर्णयहरू गरेको छ ।

जसमा निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ ।

यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ ।

त्यस्तै मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय पनि आयोगले गरेको छ ।

आयोगले मतदानको मितिभन्दा सात दिनअगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालनको व्यवस्था मिलाउने लगायतका निर्णय आयोगले गरेको छ । 


प्रतिक्रिया