कोशी प्रदेशका पहाडी जिल्लाका आयोजना अनिश्चित
फाल्गुन १५, २०८२ | धनकुटा
संघीय सरकारको सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत बजेट रोक्का गरेपछि धनकुटा, भोजपुर र संखुवासभामा सञ्चालन हुने भनिएका विभिन्न भौतिक पूर्वाधार निर्माणका ११ वटा आयोजना अनिश्चित बनेका छन् ।
कोशी प्रदेशका पहाडी जिल्लामा कार्यान्वयनका लागि स्वीकृत कार्यक्रमको बजेट फुकुवा नभएपछि आयोजना अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको हो ।
सहरी विकास मन्त्रालय अन्तर्गतका कार्यक्रममध्ये सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको कार्यक्षेत्रभित्र पर्ने तीन जिल्लाका योजनामा बजेट रोक्का गरिएको आयोजना प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा कार्यक्रम स्वीकृत भए पनि बजेट फुकुवा नभएकाले कार्यान्वयन अन्योलमा परेको हो ।
रोक्का गरिएका योजनामध्ये संखुवासभाको पाँचखपन नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत करिब ४ करोड रुपैयाँ लागत अनुमानको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम छ ।
बाँकी १० वटा आयोजना भने करिब ३÷३ करोड रुपैयाँ लागत अनुमानका रहेका छन् ।








