निर्वाचन सामाग्रीसहित मनाङको फु गाउँमा खटिए कर्मचारी र प्रहरी

फाल्गुन १७, २०८२ | लमजुङ

आगामी बिहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा कर्मचारीसहित प्रहरी खटिन थालेका छन् ।

नार्पाभूमि गाउँपालिका ४ र ५ का लागि कर्मचारी र प्रहरी सदरमुकाम चामेबाट खटिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नार्पाभूमि गाउँपालिकाको ४ र ५ को मतदान केन्द्रमा गरी मतदान अधिकृत र सहयाक मतदान अधिकृतसहित ५÷५ जना कर्मचारी र १०÷१० जना प्रहरी खटिएका छन् । यसमा निर्वाचन प्रहरी समेत छन् ।

फु को २ वटै मतदान केन्द्र अति संवेदनशील मानिएकाले थप प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । नार्पाभूमि गाउँपालिका १, धर्मशाला माथि जमेको छहरा फोडेर एक साताअघि बाटो बनाएपछि च्याखु र मेता चौकीका प्रहरी पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी हरिप्रसाद पौडेलका अनुसार नार्पाभूमि गाउँपालिकाको चुनावी सुरक्षार्थ प्रहरी निरीक्षक मोहन जैरुको नेतृत्वमा थप प्रहरी पनि खटिएका छन् ।

कुल ७ हजार मतदाता रहेको मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ छन् । 


प्रतिक्रिया