ग्यास, पेट्रोल र डिजेल अभाव नभएको पर्सा प्रशासनको दाबी
फाल्गुन २७, २०८२ | पर्सा
पर्सामा ग्यास, पेट्रोल र डिजेलको अभाव नरहेको भन्दै पर्सा जिल्ला प्रशासनले अनावश्यक अफवाह नफैलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नेपाल आयल निगम तथा ग्यास विक्रेता संघले उपलब्ध गराएको विवरणअनुसार इन्धन र ग्यासको पर्याप्त मौज्दात रहेको छ ।
ग्यास, डिजेल र पेट्रोलको आयात नियमित रूपमा भइरहेकाले तत्काल अभाव नहुने प्रशासनले जनाएको छ । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले इन्धन तथा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गतिविधि हुन नदिन निगरानी कडा बनाउने निर्णय गरेको छ ।
यस्तै, ग्यास डिलरहरूले बिक्री वितरण गरेका उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा ग्यास उद्योगमा उपलब्ध गराउने निर्णय भएको छ ।









