सुरु भयो चैते छठको धार्मिक विधि
चैत्र ८, २०८२ | पर्सा
पर्सामा चैते छठको धार्मिक विधि आजबाट सुरु भएको छ । ब्रतालुहरुले आजबाट ‘नहा खाय’ बिधि सुरु गरेका छन् । यस दिन ब्रतालुहरुले स्नान गरेपछि शुद्ध चोखो गरी पकाइएको दाल,भात तथा लौकाको तरकारी खाने गर्छन् ।
ब्रतालुहरुले आजबाट तामसी भोजन गर्दैनन् । ब्रतालुहरुले भोली साझ सख्खर, दूध र चामलबाट तयार पारीएको खिर (रस्याउ) खाने र मंगलबार दिन भरी निर्जल निराहार ब्रत लिने गर्दछन् ।
मंगलबार साझ अस्ताउदो सूर्य र बुधबार बिहान उदाउदो सूर्यलाई अर्घ दिएपछि यस बर्षको चैते छठ पर्व सकिने छ । तराईमा कात्तिकी र चैते गरी बर्षमा २ पटक छठ पर्व मान्ने चलन छ । कतिपय ब्रतालुहरुले कात्तिकी छठ मात्र मान्ने गर्छन् ।
यस्तै छठ पुजा गर्दा सौभाग्य एवम् सन्तान प्राप्तिको साथै चर्म रोग निको हुने जनविश्वास रही आएको छ । पछिल्ला केही बर्ष यता चैते छठ मान्नेहरुको संख्या पनि बाक्लिदै गएको छ ।











