निर्माण नसकिँदै बगे २ वटा पुल
चैत्र ११, २०८२ | पाँचथर
पाँचथरको याङ्बरक गाउँपालिका–२ स्थित मेवाखोलामा निर्माणाधिन पुलमा बाढीले क्षति पुर्याएको छ । बाढीले खोलाको सतह गहिरो बनाएपछि पुलका टेका र फर्मा ढल्नका साथै अन्य संरचनामा पनि क्षति पुगेको हो । मध्यपहाडी राजमार्गमा पर्ने मेवाखोलामा ४० मिटर लामो पुल निर्माण भइरहेको थियो । २०८१ असोज १२ गते आएको बाढीले यहाँको पुल बगाएपछि नयाँ पुल निर्माणको काम अघि बढाइएको थियो ।
मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख सञ्जय मिश्रका अनुसार करिब ९० प्रतिशत काम सकिएको अवस्थामा पुल पुनः भत्किएको हो । ७ करोड ७६ लाख रुपैयाँ लागतमा सरोज निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको उक्त पुल चैत २ गते ढलान भएको थियो ।मेवाखोलामा पुल नहुँदा उत्तरी क्षेत्रका च्याङ्थापु र फलैचा सँगै ताप्लेजुङको सादेवा र कालिकाखोला क्षेत्रका नागरिकले सास्ती व्यहोर्दै आएका छन ।
यसैगरी ताप्लेजुङको नेरुवा खोलामा निर्माणाधीन ३५ मिटर लामो पुल पनि बाढीले भत्काएको छ । सो पनि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । नेरुवा खोलाको पुल ७ करोड ४७ लाख रुपैयाँ लागतमा सञ्जिव निर्माण सेवाले निर्माण गरिरहेको थियो ।











