दशगजाको अतिक्रमण नेपाली र भारतीय सशस्त्र प्रहरीको संयुक्त टोलीले हटायो
वैशाख ४, २०८३ | पर्सा
सशस्त्र प्रहरीले भारतसँग जोडिएको दशगजा सीमाक्षेत्रमा अवैध रूपमा सन्चालन हुदै आएका खुल्ला मदिरा पसल तथा टहरा हटाएको छ ।
पर्साको बिन्दबासिनी गाउँपालिका–४ प्रसौनीभाठ्ठा, अमरपट्टीस्थित सीमाक्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोली, प्रहरी चौकी अमरपट्टीको टोली तथा भारतको पूर्वी चम्पारण जिल्लास्थित सिसुवा ग्राम पञ्चायत–१ अन्तर्गत सशस्त्र सीमा बल ४७ बटालियन ‘सी’ कम्पनी धुपाटोलाको संयुक्त टोलीले सो कारबाही गरेको हो ।
संयुक्त टोलीले दशगजा क्षेत्र अतिक्रमण गरी अवैध रूपमा सञ्चालन गरिएका संरचनामाथि डोजर चलाउँदै हटाएको हो ।
सो क्रममा नेपालतर्फ रहेका ५ टहरा, ३ खुल्ला मदिरा पसल र १ भट्टी तथा भारततर्फ रहेका ३ टहरा हटाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सीमाक्षेत्रको अतिक्रमण नियन्त्रण तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता संयुक्त अनुगमन र कारबाहीलाई निरन्तरता दिइने सशस्त्र प्रहरी बल नं १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो ।










