आगलागीमा परि उदयपुरमा २ जनाको मृत्यु
वैशाख ८, २०८३ | काठमाडौं
उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टारमा भएको भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ ।
गएराति २ बजेर ४५ मिनेटबाट सुरु भएको आगलागीमा परि स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको हो ।
बेल्टार स्थित शान्तिचोकका लक्ष्मि नारायणको घरबाट विद्युत्को तार सर्ट भएर आगोले लक्ष्मिसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेर पूर्ण रूपमा नष्ट बनाएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा जलेर दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताउनुभयो ।
उहाँका अनुसार आगलागीमा परी घाइते भएकी अस्मिता खड्काको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।
आगो त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आज बिहान नियन्त्रणमा लिइएको छ ।
क्षतिको अन्य विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।











