भावी रणनीति बनाउन कांग्रेसको इतर पक्षको भेला आयोजना
वैशाख १५, २०८३ | काठमाडौं
नेपाली कांग्रेसको इतर समूहले पार्टीको १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आफूहरुलाई सम्मानजनक रुपमा सहभागी गराउनुपर्ने बताएको छ ।
पूर्व सभापति शेरवहादुर देउवा पक्षीय नेताहरुको भेलामा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले अघि सारेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सम्मानजनक सहभागिताको माग भएको नेताहरुले बताएका छन् । भेलामा सहभागी नेता मीनबहादुर विश्वकर्माले सहमतिका लागि संवादमार्फत् अघि बढ्नुपर्ने बताउनुभयो ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता पाएपछि भावी रणनीति बनाउन इतर समूह जुटेको हो ।
भेलामा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि विशेष महाधिवेशन र १४ औँ महाधिवेशनबाट आएका केन्द्रीय कार्यसमितिलाई एकीकृत गर्नुपर्ने, १५औँ महाधिवेशनका लागि आयोजक समिति गठन गर्नुपर्ने लगायत धारणा राखेको बताइएको छ ।







