नवलपरासीको दाउन्ने खण्ड २२ घण्टादेखि अवरुद्ध

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७५ | काठमाडौं

मालबाहक ट्रक सडकमा पल्टिएपछि पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने खण्ड २२ घण्टादेखि अवरुद्ध छ । दुम्कीबासदेखि पूर्व डण्डाबजारसम्म २६ किलोमिटर लामो सवारी साधनको जाम रहेको सहकर्मी नारायण शर्माले जनाएका छन् ।

नवलपरासी जिल्लाको दाउन्ने पूर्व र पश्चिम दुई फरक प्रदेशमा पर्ने भएकाले समन्वय अभावमा सडक खुलाउन समस्या भएको हो । हिजो दिउँसो ३ बजे दाउन्नेको घिउ खोला  र दुम्किबासमा भुस बोकेको ट्रक पल्टिदा सडक अवरुद्ध भएको थियो । दशैं मान्न पश्चिम हिडेका सयौं यात्रु बाटैमा अलपत्र परेका छन् । जंगलको बीचमा जाम भएकाले हिजो देखि बालबच्चा र बृद्धाबृद्धाको बिजोग भएको छ । गाडि चालक आफैले अर्को गाडिलाई उछिन्न खोज्दा भएको जाम खुलाउन थप समस्या भएको ट्राफिक प्रहरीको भनाई छ ।

प्रहरीले केहीबेरअघिबाट मात्र सडक एकतर्फी सञ्चालनका लागि पहल थालेको छ । देशभरिका यात्रु हिड्ने मुख्य राजमार्ग अबरुद्ध भएको २२ घण्टा बित्दा समेत राजमार्ग खुलाउन स्थानीय प्रशासनले कुनै सक्रियता देखाएको छैन । दुम्किबासदेखि चोरमारा खण्डको २२ किलो मिटर खण्डमा जङ्गल पर्छ । सो क्षेत्रमा अलपत्र परेका यात्रुले पानी समेत खान पाएका छैनन् ।

नवलपरासिका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सडक खुलाउन समन्वयको प्रयास भैरहेको दाबी गर्नुभएको छ । साँघुरो सडकमा गाडि पल्टिएकाले हटाउन समस्या भएको नेपालको भनाई छ । 


प्रतिक्रिया