सब रिजनल छनोटको समूह बी को उपाधि नेपाललाई

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७५ | काठमाडौं

मलेसियामा सम्पन्न ट्वान्टी २० विश्वकप क्रिकेटको एशियाली सब रिजनल छनोटको समूह बी को उपाधि नेपालले जितेको छ । नेपाल र सिगांपुरबीचको खेल वर्षाले प्रभावित भएपछि रनरेटको आधारमा नेपाल समूह विजेताको रुपमा एशियाली छनोटमा पुगेको हो ।

८२ रनको विजयी लक्ष्य पाएको नेपालले ३ बलमा १ विकेटको क्षतिमा १ रन जोड्दा पानी परेपछि खेल स्थगित भएको थियो । छनोट चरणका खेलमा दुबै टोलीले शतप्रतिशत नतिजा निकाले पनि रनरेटका आधारमा सिगांपुर उपविजेता बनेको हो । सिगांपुरसँगै आयोजक मलेसिया दोस्रो चरणको एशिया छनोटमा पुगेका छन् । 

यसअघि क्वालालाम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सिंगापुर १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटिएको थियो । सिगांपुरका लागि सुरेन्द्रन चन्द्रमोहनले बनाएको २५ रन नै सर्वाधिक रह्यो । नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । 

प्रतियोगितामा चीनलाई १० विकेटले हराउँदै आयोजक मलेसियाले पनि एसियाली छनोटमा स्थान बनाएको छ । 

यसैबीच जारी प्रतियोगितामा २४ विकेट लिदंै लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान कायम गरेका छन् । एकै प्रतियोगितामा धेरै विकेट लिने उनी नेपाली पहिलो बलर बनेका छन् । यसअघि बसन्त रेग्मीले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । 


प्रतिक्रिया