सरकार एकाधिकार र निरंकुशता तर्फ उन्मुख : सभापति देउवा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २६, २०७५ | बागलुङ

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संवैधानिक समस्या बल्झाउने खेलमा लागेको आरोप लगाउनु भएको छ । कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोध सभामा बोल्दै उहाँले प्रतिपक्ष दल बिनाको संवैधानिक समितिको बैठक बस्ने, प्रतिपक्ष बिहीन संसदझै एकाधिकार र निरंकुशतामा लागेको आरोप लगाउनु भएको हो ।

चिकित्सा शिक्षा विधेयक लगायतका दर्जनौं घटनामा सरकारले संविधान कुल्चेको आरोप समेत उहाँले लगाउनुभयो ।

‘हामीले संवैधानिक समस्या नआओस भनेरै प्रतिकूलतामा तीन तहको निर्वाचन गरायौं’ देउवाले भन्नुभयो, ‘सहज परिस्थिति आएपछि वर्तमान सरकार संविधानका धारा मिचिरहेको छ ।’ सभापति देउवाले प्रेस स्वतन्त्रता विरोधी कानून ल्याउन सरकार सक्रिय भएको आरोप लगाउनुभयो ।

सरकारले बारम्बार संविधान कुल्चने प्रयास गरिरहे कांग्रेसले सदनबाट सडकमा झर्न सक्ने उहाँले चेतावनी दिनुभयो । पूर्व प्रधानमन्त्री समत रहेको कांग्रेस सभापति देउवाले विरोधका शैलीमा संयमता अपनाएर सरकार सच्चियोस् भन्ने चाहेको बताउनुभयो । उहाँले कांग्रेसको संयमतालाई कमजोरी ठानियो भने सडक संघर्षमा जानुपर्ने उल्लेख गर्नुभयो । 

महासमिति बैठकबाट बनेको विधान नेपालका सबै दल भन्दा अब्बल भएको उहाँले दाबी गर्नुभयो । सबै जाती, क्षेत्र र भूगोललाई समावेश गरेर पदाधिकारीमा लैजान सकिने, कम्तिमा ३३ प्रतिशत महिला निर्वाचित हुने प्रावधान विधानमा रहेको उहाँले बताउनुभयो । केपी शर्मा ओली नेतृत्वको सरकारको विरोधमा समय खर्चेका देउवाले हिंसा र दण्डहिनता मौलाउने गरी सरकार अपराधिको संरक्षणमा लागेको आरोप समेत लगाउनुभयो ।

‘निर्मला हत्या काण्ड सहितका धेरै घटनामा अपराधी लुकाउने काम भयो’ देउवाले भन्नुभयो, ‘जनताको आधारभूत आवस्यकता पूरा गर्न नलागेर हावादारी भाषण र उखान भन्दै हिँडेर देख समृद्धिमा जाँदैन ।’ उहाँले प्रधानमन्त्री ओलीका भाषणलाई उखान टुक्का मात्र भएको टिप्पणी गर्नुभयो । देशव्यापी रुपमा कर बढाएर जनताको ढाड सेकेको भन्दै मूल्य वृद्धि फिर्ता लिन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

कांग्रेसले एक वर्ष चुप लागेर बसेको भन्दै उहाँले अब भने विरोधको अभियान थालेको बताउनुभयो । 

कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको राष्ट्रवाद उधांगो भएको टिप्पणी गर्नुभयो । उहाँले कम्प्युनिष्ट दर्शन र खोक्रो राष्ट्रवादी भाषणले मात्र देश चल्न नसक्ने बताउनुभयो ।

‘केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो’ शर्माले भन्नुभयो, ‘जुन विषयमा जनमत संग्रह गर्नै सकिंदैन भन्ने संविधानमा उल्लेख छ, त्यसैमा लम्पसार पर्नुभयो ।’ सिके राउतको विखण्डनवादी जालमा प्रधानमन्त्री फसेको उहाँको भनाई थियो ।

सरकारले बुढीगण्डकी बिना प्रतिस्पर्धा चिनियाँ कम्प्नीलाई दिएको, रेल र पानी जहाजका लागि विदेशी ऋण खोजेर राष्ट्रियता कमजोर पारेको आरोप पनि लगाउनुभयो । ‘श्रीलंकामा चिनियाँ झण्डा फैलिएझै भोलि नेपालीले रेलको ऋणको नाममा अर्काको देशको झण्डा गाडिने अवस्था आउन सक्नेछ’ शर्माले भन्नुभयो, ‘विदेशी झण्डा फहराएको देख्नेकी आफ्नै लगानीमा काम गर्ने ?’ कांग्रेसले निर्वाचन हारेर नेकपाको खोक्रो राष्ट्रवाद उधांगिएको देख्न पाएको टिप्पणी गर्नुभयो । 

दुइ तिहाईको सरकार भएकोले ५वर्षमा काम गरेर देखाउने समय भएपनि एक वर्षमा संकेत दिन नसकेको भन्दै उहाँले सरकारी कामको विरोध गर्नुभयो । देखिने गरी समृद्धिको जग बसाल्न नसकेको सरकारका कमजोरी देखाउन कांग्रेस जागरण अभियानमा निस्कनु परेको उहाँले बताउनुभयो । प्रवक्ता शर्माले निजीकरणमा गएकै कारण देशमा लगानी भित्रिएर शिक्षा, स्वास्थ्य र उत्पादन बढेको दाबी गर्नुभयो । 


प्रतिक्रिया