एक वर्षमा सात सय ४७ किलोमिटर सडक कालोपत्रे

रेडियो कान्तिपुर संवाददाता

चैत्र ६, २०७५ | काठमाडौं

पछिल्लो एक वर्षमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको भौतिक पूर्वाधार तथा यातायातले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र भएको छ । नारायणगढ–मुग्लिन सडक ३२ किलोमिटर र मदन भण्डारी राजमार्गमा १२ किलोमिटर सडक कालोपत्र भएको मन्त्रालयको भनाई छ ।

भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजित सम्पूर्ण बजेट खर्च भएको जानकारी दिँदै अर्थ मन्त्रालयसँग थप रकम मागेको बताउनुभयो । मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र हुलाकी राजमार्ग दु्रतगतिमा निर्माणकार्य भइरहेकाले अर्थ मन्त्रालयमा थप रकम माग भएको उहाँको भनाई छ ।

पछिल्लो एक वर्षमा एक हजार १ सय १८ किलोमिटर सडक ग्राभेल भएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ९० किलोमिटर र मदन भण्डारी राजमार्गको धरान–चतरा–हेटौंडा खण्डमा १ सय ३ किलोमिटर सडक ग्राभेल भएको छ । सोही अवधिमा ७ सय २१ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वरदेखि नागढुङ्गा सडक आगामी एक महिनामा, चावहिलदेखि साँखु सडक आगामी दुई महिनामा सम्पन्न गर्नेे दाबी गरेको छ । एक वर्षमा ९४ वटा पुल निर्माण भएको जानकारी दिँदै मन्त्री महासेठले आगामी वर्ष २ सय पुल बनाउने योजना रहेको सुनाउनु्भयो । 

छोटो र लामो दूरीमा रेलमार्गका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । नौ सय ४५ किलोमिटर लम्बाइको मेची–महाकाली रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको छ । काठमाडौं उपत्यका मेट्रो रेलअन्तर्गत सम्भाव्यता अध्ययन गर्न इच्छुक परामर्शदातालाई सूचीकृत गर्न मूल्याङ्कन भइरहेको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार चीन सरकारको सहयोगमा केरुङ–काठमाडौं रेलमार्ग र भारत सरकारको सहयोगमा वीरगञ्ज–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । 

कोशी र गण्डकी नदीमा जल यातायात सञ्चालन गर्न नेपाल र भारतको संयुक्त टोलीले प्राविधिक अध्ययन गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो । 

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा धुलो कम गर्ने तथा सडक बत्ती व्यवस्थापन र सडक चिन्ह लगायतका काम भइरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया