बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै समितिले छलफल तीब्र पार्‍यो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | काठमाडौं

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै संघीय संसद अन्तर्गतका विभिन्न विषयगत समितिले छलफल तीब्र पारेका छन् । बजेटका सम्बन्धमा अर्थ समितिले सात वटै प्रदेशका सरकार, निजी क्षेत्र लगायत सरोकावालासँग छलफल गरी सुझाव सहितको प्रतिवेदन तयार पारेको छ । भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सुझाव बुझाउने तयारी समितिको छ ।

आगामी वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमका बारेमा विभिन्न समितिहरुले मातहतका मन्त्रालय तथा निकायसँग छलफललाई तीब्रता दिएको छ । विकास तथा प्रविधि समितिले पनि विभिन्न मन्त्रालयको आगामी बजेट व्यवस्थापन र कार्यक्रम बारेको छलफल तीब्र पारेको छ ।

सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्षको बजेट व्यवस्थापन लगायत विषयमा छलफलका लागि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठक आज बस्दैछ ।

शहरी विकास मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमका सम्बन्धमा छलफलका लागि समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सिंहदरवारमा बस्ने समितिको बैठकमा मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमबारे छलफलका लागि मन्त्री र सचिवलाई बोलाइएको छ । 

शिक्षा तथा स्वास्थ्य समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ । समितिको वार्षिक प्रतिवेदन लगायत विविध विषयमाथिको छलफलका लागि समितिको बैठक बोलाइएको हो । सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया