अप्टिकल फाइबर बिछ्याउने काम सुरु

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | काठमाडौं

- पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म २१ सय ७९ किलोमिटर लामो अप्टिकल फाइबर बिछ्याउन शुरु भएको छ । पहिलो खण्ड अन्तरगत मध्यपहाडी लोकमार्ग अन्तर्गत चियो भञ्ज्याङदेखि गोरखाको आरुघाट खण्डमा अप्टिकल फाइबर बिछ्याउन थालिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको साढे दुई वर्षपछि नेपाल टेलिकमले मध्यपहाडी लोकमार्ग अन्तर्गत प्रदेश १ देखि ३ सम्म अप्टिकल फाइबर बिछ्याउन लागेको हो ।

धादिङ, सिन्धुली र धनकुटाबाट एकैसाथ फाइबर विस्तारको काम सुरु भएको टेलिकमले जनाएको छ । धादिङबाट सुरु भएको कामको भने प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको छ । टेलिकमले मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चियो भञ्ज्याङदेखि गोरखा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर विस्तार गर्नेछ ।

यसका लागि टेलिकमले विभिन्न ५ वटा कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम परिचालन गरी अप्टिकल फाइबर विस्तारका लागि टेलिकमलाई २०७३ असोज १२ गते जिम्मा दिएको थियो । दुई वर्षमा फाइबर बिछ्याउने काम सम्पन्न गर्ने लक्ष्य भएपनि ढिलो गरी काम शुरु भएको हो । यो काम सम्पन्न भएपछि तीन प्रदेशका ३२ जिल्ला सदरमुकाम र स्थानीय तह अप्टिकल फाइबर सञ्जालमा जोडिने टेलिकमले जनाएको छ । 

 


प्रतिक्रिया