सरकारलाई शक्तिको भोक जागेको छ : कांग्रेस 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | काठमाडौं

- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय सरकारलाई शक्तिको भोक जागेको आरोप लगाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर कांग्रेसले सरकारका पछिल्ला कामको खण्डन गरेको हो ।

सचेतक पुष्पा भुषालले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग सम्वन्धी विधेयक र राष्ट्रिय सुरक्षा परिषद सम्वन्धी विधेयकमा उल्लेख भएका प्रावधानले सरकारलाई शक्तिको भोक जागेको प्रष्ट हुने बताउनुभयो । उहाँले सरकारले गरेको गलत कामको मिडिया मार्फत खबरदारी गर्नुपर्नेमा मिडियालई संकुचित पार्न खोजिएकाले सो विधेयक तत्काल फिर्ता लिन आग्रह गर्नुभयो ।

 संविधानमा अभिव्यक्ति र प्रेस स्वतन्त्रताका विषय स्पष्ट उल्लेख भएपनि मिडिया काउन्सिल विधेयकले मिडियालाई संकुचित पार्न खोजिएको आरोप लगाउनुभयो । राज्य नियन्त्रित कानून बनाएर सरकारले प्रेस स्वतन्त्रता खोस्न खोजेको भुषालले उल्लेख गर्नुभयो । 

यस्तै २० वटा भन्दा बडी अन्तर्राष्ट्रिय अभिसन्धीमा नेपालले हस्ताक्षर गरेको भएपनि सरकारले ल्याएको मानव अधिकार सम्वन्धी विधेयकले मानव अधिकारको बर्खीलाप गरेको भुषालको भनाई छ । सुरक्षा परिषद सम्वन्धी विधेयकमा भएको कतिपय प्रावधान पनि संविधान र लोकतन्त्रको मूल्य मान्यता विपरित रहेको कांग्रेसको तर्क छ । 


प्रतिक्रिया