४० हजार घुससहित प्राविधिक पक्राउ 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १४, २०७६ | पोखरा

हेवी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरामा कार्यरत एक कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् । स्काभेटरको लाइसेन्स निकालिदिने भन्दै एक व्यक्तिसँग ४० हजार घुस लिदालिँदै द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछानेलाई गएराति पक्राउ परेका हुन् । 

उनलाई सहयोग गर्ने मेट्रो ड्राइभिङ इन्स्ट्च्यिूटका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले पनि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ । 

लामिछानेले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीबाट लिखित परीक्षा र ट्रायलमा उत्तीर्ण गराइदिने भनी सेवाग्राहीसंग घुस मागेको सूचना र उजुरीका आधारमा घुस रकम सहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । ड्याम साइडस्थित बार्दली रेष्टुरेन्ट एन्ड बारबाट दुवै जनालाई रंगेहात पक्राउ गरिएको हो । 

यसैगरी ड्राइभिङ इन्स्टिच्युटका संचालक काफ्लेको साथबाट १ लाख ६ हजार नगद, डायरी लगायत अन्य प्रमाणहरु बरामद भएको अख्तियार स्रोतले  जनाएको छ । लाइसेन्स निकालिदिने भन्दै काफ्लेले विभिन्न व्यक्तिबाट सो रकम लिएका थिए । सत्यतथ्य यकिन गर्न र यातायात कार्यालयका कर्मचारीको संलग्नता भए/नभएको बारे थप छानबिन भइरहेको अख्तियारले जनाएको छ । 


प्रतिक्रिया