हावाहुरीको बितन्डा : २ जनाको मृत्यु, एक सय बढी घाइते

जेष्ठ २४, २०७६ | धनगढी

बिहीबार राति आएको हावाहुरीका कारण कैलालीमा २ जनाको मृत्यु हुनुका साथै ठूलो संख्यामा घाइते भएका छन् । भौतिक क्षति पनि उत्तिकै ठूलो मात्रामा भएको छ । टीकापुर नगरपालिका २ मा परखाल भत्केर लाहनु डगौराको मृृत्यु भएको छ ।

यस्तै, गोदावरी नगरपालिका ८ का वीरबहादुर चौधरीको पनि मृत्यु भएको छ । पूर्वबाट  आइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढीको ढुंगे बजारमा रुख ढलेर गुडिरहेको भ्यानमाथि लाग्दा गाडीमा क्षति पुगेको छ । सो घटनामा घाइते बाहेक अन्य क्षति भने नभएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीकाअनुसार हावाहुरीकै कारण जिल्लाका विभिन्न स्थानमा ७५ जना बढी घाइते भएका छन् । घाइतेहरुको सेती अञ्चल अस्पताल धनगढी लगायत विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

गम्भीर घाईते ४ जनालाई उपचारका लागि रिफर गरिएको छ । क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ । हुरीले धेरैजसो घरहरुमा छाना उडाएको छ । धनगढीको पुरानो एयरपोर्ट नजिकै रहेको मुक्त कमैया सिविरमा रहेका सबै घरको छाना उडाएको छ ।

विद्युतका पोलहरु ढल्दा सेवा पूर्णरुपमा अवरुद्ध छ । रुखहरु जताततै भाँचिएका छन् । कतिपय स्थानमा सडक अवरुद्ध छ । करीब एक घण्टासम्म चलेको हावाहुरीले रातभर स्थानीय बासिन्दाको बिचल्ली भएको थियो । हुरीले छाना उडाएको र मुसलधारे वर्षा पछि पीडितहरुको झन बिजोग भएको थियो । 


प्रतिक्रिया