निरन्तरको वर्षापछि झापा जलमग्न

असार २७, २०७६ | बिर्तामोड

अविरल बर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न बनेको छ । कनकाई, विरिङ, कमल, रतुवा, मेची, देउनिया, आन्धुवा लगायतका नदी तथा खोलामा पानीको बहाव उच्च भएको छ । कनकाई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका १० को बगर बस्तीमा कटान गरिरहेको छ । कटानका कारण बगर बस्तीका ५५ घर उच्च जोखिममा परेको छ ।

शुक्रबार मध्यान्हसम्म बगर बस्तीमा करीब २ सय मिटर कटान भएको छ । गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारी बजार पश्चिममा रहेको सन्थाल बस्ती डुबानमा परेको छ । डुबानका कारण बस्तीका १२ परिवार आ–आफ्ना घरका सामान सहित बजार क्षेत्रको सुरक्षित स्थानमा आएर बसेका छन् ।

गौरीगञ्ज १ कै भन्सारस्थित बालुवाढी बस्तीका ७ परिवार पनि डुबानका कारण सुरक्षित स्थानमा सरेका छन् । सो वडाको चौरीस्थित झोडामा बाँध फुट्न लागेको छ । कनकाई नदीमा आएको बाढीले बाँध फुटाउन लागेकोले अहिले आपतकालिन तारजाली सहित बाँध सुरक्षित गर्ने कार्य भइरहेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिनुभयो ।  

बिर्तामोड नगरपालिका ३ करेलाबारीका ५० भन्दा बढी घर डुबानमा परेका छन् । अन्धुवा खोलामा आएको बाढी बस्तीतर्फ पस्दा घरहरु डुबानमा परेका हुन् । बिर्तामोड बजार क्षेत्रका अधिकांश ढलको निकास अन्धुवा खोलामा मिसाउँदा यो वर्ष बाढीले डुबान बनाएको स्थानीय मनोज ठाकुरले बताए । करेलाबारीमा अन्धुवा खोलाले कटान समेत गर्न थालेको छ ।

डुबान तथा कटान क्षेत्रको अवलोकन गर्दै मेयर ध्रुव सिवाकोटी र वडाध्यक्ष भोजराज सिटौलाले आपतकालीन रोकथामका लागि बाँध बाँध्ने बोरा तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । लगातारको वर्षाले बिर्तामोड–भद्रपुर सडकखण्ड हिलाम्मे बनेको छ । फोर लेनको निर्माणाधीन सडकमा खाल्डाखुल्डी तथा हिलोका कारण सवारी साधन सञ्चालनमा कठिनाई भएको छ ।   

झापा गाउँपालिका ५ स्थित राधाबस्तीमा २०, खयरबारीमा २१ र पुरानो शरणामतीमा १२ घर डुबानमा परेका छन् । सो गाउँपालिकाको कुमरखोद बजारपश्चिम, नारिवलटोला लगायतका बस्ती पनि डुबानमा परेका छन् । विरिङ र सानोमाई खोलाको बाढीले झापा गाउँपालिकाको १, २, ४ र ५ नम्बर वडाका अधिकांश वडा डुबानमा परेका छन् ।

डुबान भएपनि विस्थापित तथा मानविय क्षति नभएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । जिल्लामा डुबान तथा कटानको उच्च जोखिमको गाउँपालिका भएकाले रबर बोट सहितको टोली उद्दार तथा राहतका लागि तयारी अवस्थामा राखेको अध्यक्ष साहले बताउनुभयो । गाउँपालिकाले एक सय बढी लाइफ ज्याकेट र एउटा रबर बोट खरिद गरेको छ । 

बाह्रदशी गाउँपालिकाका केही बस्ती पनि डुबानमा परेका छन् । राजगढ बजार, भानुचोकको सन्थाल बस्ती, घाग्रा खोला पश्चिमको गाउँ डुबानमा परेको ३ नम्बरका वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले बताउनुभयो । पानीको निकास नहुँदा दमक नगरपालिकाको बजार क्षेत्र डुबानमा परेको छ । बसपार्क, हवल्दार चोक, दीपिनी खोला आसपासका क्षेत्रका घरहरु डुबानमा परेका छन् । 


प्रतिक्रिया