प्रहरी युनिटमा नेतृत्व परिवर्तनको तयारी  

श्रावण २५, २०७६ | काठमाडौं

प्रहरी प्रधान कार्यालयले एक वर्ष समयावधि पुगेका युनिटको नेतृत्व परिवर्तन गर्ने तयारी थालेको छ । गतवर्षको साउनमा सरुवा भएका डीएसपी, एसपी र एसएसपीहरुको सरुवाको गृहकार्य अगाडि बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पनि केही प्रहरी वरिष्ठ उपरिक्षक एसएसपीको सरुवाको तयारी सुरु गरेको छ । एसएसपी रविन्द्रबहादुर धानुकको एक वर्षे कार्यकाल पूरा भएसँगै काठमाडौंपछि आकर्षक मानिने ललितपुरका लागि आधा दर्जन एसएसपीबीच चर्को प्रतिस्पर्धा देखिएको छ । आइजीपी सर्वेन्द्र खनाल र गृहसचिव प्रेमकुमार राईबीच ललितपुरलाई लिएर विवाद देखिएको छ । 

खनालले उमेशराज जोशी र सचिव राईले टेकप्रसाद राईलाई ललितपुर पठाउने बताएपछि सहमति हुन सकेको छैन । डीआईजी हटाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको नेतृत्व गर्दै आएका एसएसपी सन्दीप भण्डारी बिदा बस्नुभएको छ । भण्डारीको पनि ललितपुर जाने चाहना छ । आइजीपी खनालले भण्डारीलाई बुटवल तालिम केन्द्रको समा–देशकमा पठाउन चाहेको स्रोत बताउँछ ।  

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी बसन्तकुमार पन्तको कार्यकाल पूरा भइसकेको छ । जोशी ललितपुर नपाए महाशाखा जान इच्छुक देखिएका छन् । एसएसपी शरद खत्रीले अवकाश पाएपछि संघीय प्रहरी इकाइ कार्यालय धरान अहिले नेतृत्व बिहीन छ ।

यस्तै, संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनी, तालिम केन्द्र दुधौली, बुटवल, नेपालगञ्ज र दिपायलमा पनि नेतृत्व परिवर्तनको तयारी भईरहेको छ । बेरुजु फर्स्यौट गरेर नेपाल प्रहरीलाई पुरस्कार दिलाएका आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी दीपक थापालाई उपत्यकाको कुनै आकर्षक एवम् चुनौतीपूर्ण युनिटको जिम्मेवारी दिने तयारी प्रहरी प्रधान कार्यालयको छ ।

यसैगरी, प्रहरी मुख्यालयले एसपी र डीएसपीहरुको सरुवाको तयारी थालेको छ । एसपीको लागि आकर्षक र चुनौतीपूर्ण पोस्टिङ् मानिने रुपन्देही, सिन्धुपाल्चोकको प्रमुख हुन केही एसपीहरुको दौडधुप सुरु भएको छ । 

डीएसपी प्रमुख रहने काठमाडौ उपत्यकाको महाराजगञ्ज, कालीमाटी र बालाजु वृतको पनि नेतृत्व परिवर्तन हुँदैछ । आकर्षक जिल्ला मानिने सोलुखुम्बु जान पनि डीएसपीहरुबीच चर्को प्रतिस्पर्धा देखिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समिरचन्द्र खरेल यूएन मिसन जाने भएपछि इटहरीको प्रमुख बन्न केही डीएसपीहरु पनि लविङमा लागेका छन् । 


प्रतिक्रिया