आरक्षमा मृत फेला परेका चौपायामा एन्थ्रेक्सको जीवाणु

श्रावण २६, २०७६ | धरान

- कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्ने मध्यवर्ती क्षेत्रका चौपायाहरुमा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु फेला परेपछि लोपोन्मुख अर्नाको प्रजातिको अस्तित्व संकटमा परेको छ ।

गत विहीबार विहान श्रीलंका टप्पुमा मृत फेला परेका करिव चार दर्जन गाईगोरुका रगतको नमूना परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु फेला परेपछि अर्ना प्रजातिको अस्तित्व संकटमा परेको हो । जैविक हतियारको रुपमा समेत एन्थ्रेक्सको जीवाणुलाई प्रयोग गर्ने गरेकाले यसलाई प्राणघातक मानिएको हो । 

घातक जीवाणु एन्थ्रेक्स विरुद्धको भ्याक्सिन लगाउन ढिला गरे कोशी टप्पु बन्यजन्तु आरक्षमा रहेका लोपोन्मुख अर्नासहित अन्य चौपाया बचाउन नसकिने विज्ञहरुले बताएका छन् । चौपायाहरु मृत फेला परेको क्षेत्र बराहक्षेत्र नगरपालिका– ९ र ६ मा पर्ने श्रीलंका टप्पुमा पर्छ ।  

सुनसरीको इनरुवास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा.मनोजकुमार मेहतोले एन्थ्रेक्सको स्वाइल वर्न डिजिज गराउने जीवाणु फेला परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एन्थ्रेक्सको जीवाणु हावा, पानी, माटो र चौपाया चरिचरण गरेका क्षेत्रबाट अन्य चौपाया र मानिसमा समेत  सहजै सर्न सक्छ ।’ एन्थ्रेक्सबाट चौपाया बचाउन आरक्षभित्र रहेका सबै पशुमा तत्कालै भ्याक्सिन लगाउनु जरुरी रहेको बताउनुभयो । 

एन्थ्रेक्स जिवाणुको संक्रमणले मरेका श्रीलंका टप्पुका चौपायाहरुका नाक, कान, आंखा, मुख, मलद्धारबाट रक्तश्राव भएको देखिएको थियो । एन्थ्रेक्सकै जीवाणुले चौपाया मरेको जानकारी वन तथा वातावरण मन्त्रालयमातहतको पशुपंक्षी हेर्ने र बन्य जन्तु आरक्ष हेर्ने केन्द्रीय निर्देशनालय र क्षेत्रीय निर्देशनालयमा जानकारी दिदै एन्थ्रेक्स विरुद्धको भ्याक्सिन तत्काल पठाउन माग गरेको डा. महतोले बताउनुभयो ।

जेनेटिक डिजिज भएकाले एन्थ्रेक्सको जीवाणु पशुबाट पशु र मानिसमा समेत सर्न सक्ने भएकाले एन्थ्रेक्स विरुद्धको भ्याक्सिन लगाउनपनि सावधानी अपनाउनु पर्ने उहाँको भनाई छ । 

यसअघि नेपालमा नदेखिएको एन्थ्रेक्सको जीवाणु आरक्षमा कहांबाट एक्कासी आएको हो त्यसको पनि अनुसन्धान गर्नु जरुरी रहेको छ । पशु विज्ञहरुकाअनुसार एन्थ्रेक्सको जीवाणु माटोमा कम्तिमा २० वर्षसम्म बांच्न सक्छ । आरक्ष लोपोन्मुख अर्नाको मात्र बासस्थान नभएर अन्य धेरै प्रजातिका जङ्गली जनावरको बासस्थान भएकाले आरक्षका प्रत्येक चौपायालाई भ्याक्सिन लगाउनु एकमात्र विकल्प रहेको विज्ञहरुले बताएका छन् । 

आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले एन्थ्रेक्स जीवाणु नियन्त्रण गर्न र आरक्षका जीवजन्तुमा एन्थ्रेक्स विरुद्ध खोप लगाउन चुनौती पुर्ण रहेकाले आवश्यकता अनुरुप दक्ष जनशक्ति परिचालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

आइतबार दिउसो पुनः स्थलगत अवलोकन गर्न पुगेका उहाँले भन्नुभयो, ‘चारदिन यता अरु चौपाया मृत फेला परेको देखिएको छैन । थप अनुन्सन्धान गर्दै छौं । एन्थ्रेक्सको जीवाणु मार्नकालागि चरन क्षेत्रमा डढेलो लगाउने, फर्मालिन औषधी र चुना छर्ने काम गर्ने या अरु के विकल्प हुनसक्छ समन्वय गर्दै छौं ।’

उहाँका अनुसार आरक्षमा लोपोन्मुख अर्नाका प्रजाति ४ सय ५० वटा छन् । तर आरक्षभरी अन्य चौपाया, छाडा छाडिएका गाई बस्तुको संख्या करिव १० हजारको संख्यामा रहेका छन् । एन्थ्रेक्स नियन्त्रणकालागि सरकारले केन्द्रीय निर्देशनालयबाट पठाएका विज्ञहरुको टोली आइपुगेपछि थप छलफल गरेर समस्या समाधानको उपाय निकालिने भएको छ ।

के हो एन्थ्रेक्स र कसरी सर्छ ?

एन्थ्रेक्स प्राण घातक जिवाणु हो । विशेषगरी घांस खाने जीवजन्तुको रोग भएपनि तिनै जीवजन्तुबाट मानिसकमा पनि सहजै सर्छ । एन्थ्रेक्सको जीवाणु घांसको माध्यवबाट शरीरमा प्रवेश गरेपनि रगतको माध्यमबाट शरीरभरी फैलिने र १२ देखि ४८ घाण्टाभिक्र संत्रमित चौपाया वा मानिसको मृत्यु हुन्छ । एन्थ्रेक्सको संक्रमणपछि विना लक्षण जनावरमा उच्च ज्वरो आउने र हृदयघात हुने र एक्कासि मृत्यु हुने डा. महतोले बताउनुभयो । 

 उहाँले भन्नुभयो, ‘पूर्वलक्षण विरलै देखापर्ने भएकाले चौपाया मरेपछि मात्र नाक, मुख, कान र मलद्वारबाट रगत निस्किने गर्छ ।’ एन्थ्रेक्सविरुद्ध प्रतिजैविक खोप लगाउनु एकमात्र विकल्प रहेको छ । पशु चिकित्सकका अनुसार झारपात वा घांसको तल्लो भागसम्म खाने पशु तथा जनावरमा जीवाणुको सङ्क्रमण चाडै फैलिने सम्भावना प्रबल रहन्छ ।

एन्थ्रेक्स जीवाणुको संक्रमणबाट मरेका जनावर छुदा, नजिकैबाट श्वास प्रश्वास लिदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र संक्रमित क्षेत्रको सागपात तथा फलफूल तरकारी राम्ररी नपखाली खादा एन्थ्रेक्सको जीवाणु मानिसको शरीरमा सर्छ । 

 


प्रतिक्रिया