रेलमार्गका लागि १४ पुलको निर्माण सुरु 

रेडियो कान्तिपुर संवाददाता

भाद्र १, २०७६ | काठमाडौं

- महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्म रेलमार्ग निर्माणका लागि १४ वटा पुल निर्माण कार्य सुरु भएको छ । ७० किलोमिटरको दुरीमा निर्माण हुने सो रेलमार्गमा साना ठुला गरी १४ वटा पुलको निर्माण हुने रेल विभागले जनाएको छ ।

करिव ५ अर्ब रुपैयाँ  लागतमा बन्ने पुल निर्माणसँगै रेलमार्ग निर्माणको काम पनि समान गतिमा हुने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । पुल निर्माणका लागि बिभिन्न कम्पनीसंग ठेक्का सम्झौता भइसकेको छ । त्यस्तै निजगढ–लालबन्दी रेलमार्ग निर्माणको प्रारम्भीक ट्रयाकबेडको काम पनि सुरु गरिएको छ । रेलको लिक निर्माण अघि गरिने सो काम केहि महिनामै सकेर लिक बिछ्याउने काम थाल्ने विभागको तयारी छ । ४० किलोमिटर लामो सो रेलमार्गका लागि ८ अर्ब रुपैयाा लागत अनुमान गरिएको छ  । 

यसैबीच जनकपुर जयनगर चल्ने रेल  निर्माणको काम सम्पन्न भएको छ । रेल निर्माणको जिम्मेबारी पाएको भारतीय कम्पनी कोन–कोन रेल्वे कर्पोरेशनले रेलको निर्माण सम्पन्न गरेको जानकारी विभागलाई गराएको हो । ३५ किलोमिटरको सो रुटमा आगामी छठ सम्ममा रेल सञ्चालन गर्ने गरी विभागले तयारी गरेको छ । २ वटा रेल निर्माणका लागि बिभागले कर्पोरेशनसंग ८५ करोडको सम्झौता गरेको थियो ।   


प्रतिक्रिया