फास्ट ट्रयाकको लागत बढ्यो

भाद्र ११, २०७६ | काठमाडौं

काठमाडौं – निजगढ द्रुतमार्गको रेखांकन परिर्वतन भएको छ । ललितपुरको खोकनास्थित सिकाली मन्दिर र प्राचीन सम्पदा कोदेश क्षेत्रलाई संरक्षण गर्न रेखांकन परिवर्तन गरिएको नेपाली सेनाले जनाएको छ ।

मन्त्रिपरिषदबाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन डीपीआरमा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन गरिएको हो । एसियाली विकास बैंक एडीबीको सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइन अनुसार सिकाली मन्दिरसँगै १३ रोपनी जमिन मासिने भन्दै खोकनाबासी विरोधमा उत्रिएपछि नेपाली सेनाले विकल्प खोजेको थियो ।

नेपाली सेनाले स्थानीयबासीको माग अनुसार सिकाली मन्दिरसँगै कोदेशलाई संरक्षण गरेर नयाँ रेखांकन बनाएको हो । तर प्रस्थानबिन्दु भने खोकना नै हुनेछ । यस्तै, कान्ति लोकपथसँग जुध्ने भएपछि महादेवटारदेखि लेनडाँडा क्षेत्रमा पनि रेखांकन तयार गरिएको छ । त्यहाँ १ दशमलव ३७ किलोमिटर लामो छोक्रेडाँडा–ठिगन–लेनडाँडा सुरुङमार्ग प्रस्ताव गरिएको थियो । डीपीआर अनुसार खोकनामा ७८ रोपनी र फर्सिडोलमा ३० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । 

द्रुतमार्गमा तीन वटा सुरुङ बनाइने छ । महादेव डाँडामा ३ दशमलव ३५, धेद्रेमा १ दशमलव ६३ र लेनडाँडामा १ दशमलव ४३ किलोमिटर सुरुङमार्ग बनाइने श्रेष्ठले जानकारी दिनुभयो । नयाँ डीपीआर अनुसार द्रुतमार्गको लम्बाई ७६ दशमलव २ बाट घटेर ७२ दशमलव ५ किलोमिटर कायम हुनेछ । 

यस्तै, आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब पुग्ने सेनाले जनाएको छ । द्रुतमार्गको कुल लम्बाई मध्ये ६ दशमलव ४१ किलोमिटर सुरुङमार्ग, १० दशमलव ५५ किलोमिटर पुल र ५५ दशमलव ५ किमी सडक हुने छ । यसमध्ये हालसम्म २५ दशमलव ४४ किलोमिटर खण्डको सवग्रेड फर्मेसन लेभलमा काम भएको छ । झण्डै २७ किलोमिटर क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । वातावरणीय प्रभाव मूल्याङकलाई ध्यानमा राखेर नेपाली सेनाले ९५ हजार बिरुवा उत्पादन गरिरहेको पनि उहाँले बताउनुभयो । 

यस्तै, ४ लेनको द्रुतमार्गमा पहाडमा २५ र समथर क्षेत्रमा २७ मिटरको चौडाई रहनेछ । सडकको मार्गाधिकार भित्रै खानेपानी, अप्टिकल फाइबर, पेट्रोलियम पाईप लाइन, विद्युत प्रसारण लाईनजस्ता अन्य पूर्वाधार पनि जडान गर्न सकिने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया