मेलम्ची आयोजना पीडितमाथि हवाई फायर र अश्रुग्यास प्रहार

भाद्र १९, २०७६ |  सिन्धुपाल्चोक

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम गरेबापतको रकम नपाएपछि आन्दोलनमा उत्रिएका पीडित माथि प्रहरीले दमन गरेको छ ।  बुधबारबाट आन्दोलित मजदुर तथा सप्लायर्स माथि बिहीबार प्रहरीले हवाई फायरका साथै अश्रुग्यास प्रहार गरेको हो ।

इटालियन ठेकेदार कम्पनी सीएमसीले एक अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किएपछि स्थानीय आन्दोलित भएका हुन् ।  

सीएमसीले तिनुपर्ने रकम सरकारले दिनुपर्ने माग राख्दै आन्दोलित स्थानीय र  प्रहरीबीच अम्बाथान सुरुङ प्रवेश गर्ने स्थानमा झडप भएको थियो । प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गर्दा दुई जना पीडित र प्रहरी घाइते समेत भएका छन् । 

आयोजना पीडित संघर्ष समितिका संयोजक विष्णुमणी आचार्यका अनुसार मजदुरहरु सन्तोष चौधरी र बालमुकुन्द अधिकारी घाइते भएका हुन् । झण्डै ३ सय ५० जना उपस्थित रहेको आन्दोलित समूहले खानेपानी आयोजनाको उपकरणहरु तोडफोड समेत गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

सीएमसीले ठेक्का तोडेर नौ महिनाअघि नै हिँडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ । आयोजना र नेपाल सरकारले जफत गरेको रकम आफूहरुले पाउनुपर्ने माग उनीहरुको छ । सीएमसीको धरौटी, आयोजनाबाट भुक्तानी हुन बाँकी, एक अर्ब मूल्य बराबरको उपकरण, निर्माण सामग्री लगायतका रकम आयोजना र नेपाल सरकारले जफत गरेको थियो । सो रकम आफूहरुले पाउनुपर्ने भन्दै पीडितले माग राखेका छन् ।

मोटरल गायतका उपकरण सप्लाई गरेको बिरा मोटर्सले मात्रै सीएमसीसँग ८० करोड रुपैयाँ लिन बाँकी छ । सीएमसीले ठेक्का तोडेपछि अहिले मेलम्चीलाई काठमाडौं लैजाने जिम्मा चिनियाँ सिनो हाइड्रो कम्पनीले पाएको छ । बाँकी काम सम्पन्न गर्नका लागि गरिएको ठेक्का प्रक्रिया अन्तर्गत दुई प्याकेजमा ठेक्का लगाइएको थियो ।

सिनो हाइड्रोले हेडवर्क्स तर्फ २९ प्रतिशत बिलोमा गएर ९० करोडमा र सुरुङतर्फ १५ प्रतिशत विलोमा गएर ७५ करोडमा ठेक्का पाएको हो । नयाँ कम्पनीले काम गर्ने भएपछि सीएमसीसँग पैसा लिन बाँकी सप्लायर्स र मजदुरले आफ्नो पैसा नपाए आन्दोलनको चेतावनी समेत दिएका छन् । तिर्न बाँकी रहेका सप्लायर्स तथा मजदुरहरुलाई सीएमसीले भुक्तानी गर्नुपर्ने रकम प्रमाणीकरण गरेर कागजपत्र दिएको छ । 


प्रतिक्रिया