अक्करे भीरबाट अरुणमा जीप खस्दा ६ जना बेपत्ता 

आश्विन १, २०७६ | संखुवासभा

- संखुवासभाको खाँदबारीबाट बिरामी बोकेर धरान जादै गरेका जीप गएराति साढे १० बजे दुर्घटना हुँदा कम्तिमा ६ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका ३ जना परेका छन् । धर्मदेवी नगरपालिका ८ मा पर्ने अक्करको भिरबाट को १ ज ३७४९ नम्बरको गाडी अरुण नदीमा खसेको हो ।

जीप राति साढे १० बजे सीधै अरुण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मीमबहादुर लामाका अनुसार जीप खस्दा खाँदबारी ९ का २ महिने बालक समिर श्रेष्ठ, उनका बुबा संगम श्रेष्ठ र आमा सदिक्षा श्रेष्ठ बेपता भएका हुन् ।

त्यस्तै प्रमिस थापामगर, खवरमान मगर र चालक सन्तोष विक पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । जीप अरुण नदीमा खसेको सुचना पाएलगत्तै सदरमुकाम खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालित भएको थियो ।

लगातारको बर्षाका कारण अरुण नदिमा पानीको स्तर बढेको र जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको डिएसपी लामाले जानकारी दिनुभयो । लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नु पर्ने बाध्यता रहेकाले उद्धारमा समेत समस्या भएको हो । घटनास्थलमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षाकर्मी पुगिसकेका छन् । 

 


प्रतिक्रिया