कांग्रेसको चियापान आज

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७६ | काठमाडौं

नेपाली कांग्रेसले आज कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

कांग्रेसले यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिँदै विजयादशमी, शुभ दिपावली, छठ नेपाल संवत लगायत पर्वका अवसरमा आज दिउँसो १ देखि साँझ ५ बजेसम्म ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चार माध्यमका प्रमुख, पत्रकार लगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 


प्रतिक्रिया