सिक्किमको फराकिलो जित

कार्तिक १६, २०७६ | बिर्तामोड

भारत सिक्किमको आक्रामक फुटबल क्लब झापाको बिर्तामोडमा सुरु भएको अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा सिक्किमले आयोजक जायोन स्पोर्टस् क्लबलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

उद्घाटन खेलमा सिक्किमका करण राई हाबी रहे । उनले चार गोल गरेका थिए । सिक्किमका लागि थप एक गोल गणेश लिम्बूले गरेका थिए । सिक्किमले खेलको २९ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । उसका करणले टिमका लागि पहिलो गोल गरेका थिए । 

४६ औं मिनेटमा करणले नै दोस्रो गोल गर्दै सिक्किमको आग्रता दोब्बर बनाएका थिए । ५९ औं मिनेटमा टपन कार्कीले गोल गर्दै आयोजक जायोनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७८ औं मिनेटमा सिक्किमका गणेश लिम्बूले गोल गरेका थिए । ८० औं मिनेटमा सिक्किमका करणले टिमका लागि चौथो तथा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

उद्घाटन खेल ८० मिनेटको खेलाईएको थियो । शनिबारको खेलमा अतिरिक्त समयमा दुई गोल भएको थियो । ८१ औं मिनेटमा आयोजकका टङ्कु लामाले गोल गर्दै सिक्किमसँगको अन्तर घटाएका थिए । तर, ८३ औं मिनेटमा सिक्किका लागि करणले व्यक्तिगत चौथो तथा टिमका लागि पाँचौं गोल गर्दै टिमलाई फराकिलो जित दिलाएका थिए ।

खेलमा चार गोल गरेका सिक्किमका करण राई म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा आइतबारको खेल झापा ११ र नेपाल पुलिस क्लबबीच हुने खेल संयोजक अभिनास राईले जानकारी दिए । कार्तिक २५ गतेसम्म सञ्चालन हुने गोल्डकपमा दुई भारतीयसहित १० टिमको सहभागीता रहने आयोजक क्लबले जनाएको छ । गोल्डकपको विजेता टिमले नगद १२ लाख ५० हजार तथा उपविजेता टिमले नगद ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


प्रतिक्रिया