सिक्किम आक्रमण सेमिफाइनलमा

कार्तिक १८, २०७६ | बिर्तामोड

आक्रामक फुटबल क्लब सिक्किम झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको खेलमा सिक्किमले बेलबारी फुटबल क्लब मोरङलाई ३–२ गोलले पराजित गरेको थियो ।

सिक्किमको जितमा रोहन राईले २ र करण राईले १ गोल गरेका थिए । बेलबारीका लागि करण लिम्बू र भूषण सुब्बाले एक–एक गोल गरेका थिए । खेलमा अग्रता भने बेलबारीले लिएको थियो । उसका करण लिम्बूले पहिलो मिनेटमै गोल गरेका थिए । 

सिक्किमका सब्सिच्युट खेलाडी रोहन राईले ५८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो गोल गरेको चार मिनेट पछि नै रोहनले सिक्किमका लागि दोस्रो गोल गरेका थिए । ६७ औं मिनेटमा बेलबारीका भूषण सुब्बाले गोल गर्दै खेल बराबरी बनाएका थिए । सिक्किमका लागि स्ट्राइकर करण राईले ७५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । 

खेलमा सिक्किमका रोहन राई म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा मंगलबार विभागीय टिमहरु सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।


प्रतिक्रिया