प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्दै

रेडियो कान्तिपुर संवाददाता

मंसिर ४, २०७६ | काठमाडौं

- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरु हेरफेर गर्दै हुनुहन्छ । त्यसैको तयारीका लागि सत्तारुढ नेकपाको सचिवालय बैठक मध्यान्ह साढे १२ बजे बस्दैछ । बालुवाटारमा बस्ने बैठकले नयाँमन्त्रीको नाममा सहमति जुटाउने महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो । यद्यपी कति जना मन्त्री परिवर्तन हुन्छन भन्ने विषयमा प्रधानमन्त्री ओलीले कुनै जानकारी नगराएको महासचिव पौडेलको भनाई छ ।

उहाँले भन्नुभयो–आजको बैठकमा नयाँ मन्त्रीको नाम टुंग्याउने भन्ने कुरा छ । अन्य नियमित विषयमा पनि छलफल हुन्छ । सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित केहि शीर्ष नेताहरुसंग परामर्श गर्नुहुनेछ । मन्त्री मण्डल हेरफेरबारे जानकारी दिन प्रधानमन्त्री ओलीले हिजो मन्त्री परिषद्को बैठक समेत बोलाउनुभएको थियो ।

स्रोतका अनुसार सरकारमा अहिले रहेका आधा दर्जन बढी मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेबारी दिने ओलीको तयारी छ । नेकपा नेता सुभास नेम्वाङले पनि सम्भवत: आज मन्त्रीहरु हेरफेर हुने बताउनुभयो । उहाँले भन्नुभयो, आगामी मन्त्रीपरिषद बैठक अघी मन्त्रीहरु हेरफेर हुन्छन् । मन्त्रीपरिषदको नियमित बैठक भोलि बस्दैछ । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन गर्नुभएको थियो ।


प्रतिक्रिया