चिनीको प्रयोग, विष सेवन कि आवश्यकता ?

माघ २९, २०७३ | काठमाडौं

 

इतिहासकालदेखि नै दैनिक जीवन यापनदेखि लिएर बिशेषत: चाड पर्बमा चिनी मिश्रित खाद्यान्नलाई हामीले महत्वपूर्णका साथ उपभोग गर्दै आएका छौ ।

पछिल्लो समयमा खाध्य बिशेषज्ञ अनि पोषणविज्ञले बिश्वभर बढ्दै गएको चिनीको उपभोगको बिषयलाइ लिएर चिन्ता ब्यक्त गरेका छन्, कारण चिनीले शरीरलाई पुराउन सक्ने हानी या नोक्सानी । बिकासशिल देशमा समेत पछिल्लो समयमा चिनीबाट मानव स्वास्थ्यमा अझ खासगरी बालबालिकाको स्वास्थ्य जोखिमको बिषयलाई लिएर विभिन्न बहसहरु शुुरु भएका छन् । 

सर्वप्रथम कुन–कुन खानाहरुमा चिनी मिसिएको हुन्छ भन्ने वुझ्नु जरुरी छ । गुलियो पदार्थ पाइने स्रोतका आधारमा यसलाई बिभाजन गरिएको हुन्छ । जस्तै फ्रुक्टोस, ल्यक्टोस, ग्लुकोज, सुक्रोज, माल्टोस आदि प्राकृतिक पदार्थ फलफुल, तरकारी, दूध, मह, उखु जस्ता खाद्यान्नहरु बाट पाइने गुलियो पदार्थ हुन् । याहाँ उद्धृत गर्न खोजिएको बिषय भनेको रिफाइन प्रबिधिबाट बनाइएको बजारमा पाइने चिनीको हो जसको उपभोगमा पछिल्लो समय संसारका बिकसित देशमा पनि साबधानी र सतर्कता अपनाइएको छ ।

खाद्य बिशेषज्ञ अनि पोषणविज्ञ चिकित्सककाअनुसार, चिनीको उपभोगले मधुमेह रोग लाग्ने मात्र होइन यसको कारण मोटोपन बढ्ने लगायत मुटु अनि मस्तिष्कसम्बन्धी विभिन्न रोगहरु लाग्ने गर्छ । त्यसमाथि बालबालिकाहरुको हकमा भने चिनीको उपभोग झन् डर लाग्दो छ । त्यसैले विद्यालय अनि घरमै पनि उनीहरुलाई चिनीबारे जानकारी दिनु हामी अविभावकको जिम्मेवारी बन्न आउँछ । 

पूर्व तयारी खानहरुमा आजकाल धेरै जसो चिनी मिश्रित हुन्छ । बिशेषगरी आधुनिक नाम दिइएका खानाहरु जस्तै विभिन्न प्रकारका ब्रेड, सस, चिप्स, क्राकर, सफ्ट ड्रिङ्स,, कुकिज, नुडल्स लगायत अधिकांश जंक फ्रुडमा चिनी मिसावट गरिएको हुन्छ । कुनै चाडपर्ब या अन्य बिशेष कार्यक्रममा गुलियो मिठाई खुवाउने चलन छ तर गुलियोले त्यो माहोल त एकछिनको लागि रमाइलो बनाउला तर यसबाट लाग्न सक्ने दीर्घकालिन बेफाइदा भने बुझ्न जरुरी हुन्छ ।

चिनीको तुलनामा नुन अनि चिल्लो खानालाई बढी हानिकारक देख्नु हाम्रो समाजमा रहेको अर्को भ्रम हो । हाम्रो शरिरलाई आवश्यक पर्ने सल्फर नामक खनिज तत्व बिरे नुनमा धेरै पाइन्छ । यस्तै सूर्यमुखी तेल, भटमासको तेल, नरिवलको तेल, एवोकाडो, काजु, बदाम, माछा आदिमा पाइने चिल्लो भने शरिरको भिटामिन ए, डी, इ र के लाइ सोसेर संचय गर्न मद्दत गर्छ ।  

अर्को चिन्ता भनेको बढ्दै गईरहेको मोटोपनको हो । के चिल्लो अनि बोसो जन्य खाना बाट मात्रै मोटोपन बढ्छ ? अवश्य पनि अत्यधिक र अव्यवस्थित खानपान, अनियमितता, अप्राकृतिक चिल्लो खाना, शारिरिक ब्यायाम नहुनु ले मोटोपन बढ्छ नै ।  संगसंगै यसमा चीनीको उपभोगको प्रमुख भूमिका हुन्छ भन्ने कुरा बुझ्न जरुरि छ ।  बिहानको चिया देखि फास्टफुड, सफ्टड्रिङक लगायत चीनी मिस्रित विभिन्न खानाहरुनै मोटोपनको प्रमुख कारण हो भनेर पछिल्लो समयमा विभिन्न खाद्य बिशेषज्ञ अनि डाक्टरहरु यसको उपभोगलाई कम गर्ने अभियानमा जुटेका छन् ।

अमेरिकी पोषण विशेषज्ञ डाक्टर मार्क ह्य्मन भन्छन, अत्यधिक चिनीको सेवनले सरिरमा कार्बोहाईड्रेट संचय गरेर राख्छ अनि त्यसको कारण मोटोपन बढ्ने लगायत विभिन्न दिर्घकालिन रोगहरु लाग्ने गर्छ । 

अर्का डाक्टर रोबेर्ट लुसटिंग त चिनीलाई ड्रग्स र अल्कोहलसंग तुलना गर्छन । शरिरमा यसले शक्ति स्रोत बाहेक पोषण हिसाबले ’बायो केमिकल रियाक्सन’ सुन्य हो भन्छन । चीनीबारे सो तथ्य अवगत भैरहँदा हाम्रो देशमा बालबालिकाहरुको खानपान शैली बास्तबमै डरलाग्दो अवस्थामा छ ।

बालबालिका अवस्थबाटै सबै कुरा सिको गर्दै जाने र यो उमेरमा खानाको असर या प्रभाब छिट्टै पर्ने हुनाले उनीहरुलाई चिनीबारे साबधानी आजैबाट गर्नु हाम्रो जिम्मेवार हुन्छ । एकजना ब्रिटिश सेलिब्रेटी सेफ जेमी ओलिवर त बालबालिकाहरुको बिग्रदो स्वास्थ्यलाई उधृत गर्दैर् नो सुगर फर चाइल्ड’ भनेर विभिन्न अभियानहरु संचालन गरिरहेका छन् । अहिले उनकै अभियानमा बेलायतका स्कूल र अस्पतालहरुमा चिनी मिस्रित खाद्यान्न र पेय पदार्थहरु माथि त्याँहाको सरकारले बिसेष ध्यान पुर्‍याईरहेको छ ।

समग्रमा हामीले प्राथमिकता दिने भनेको प्राकृतिक खाना नै हो ।  गुलियो खाना प्रति आकर्षित हुनु स्वाभाविक हो तर बिकल्पमा प्राकृतिक स्रोतका  विभिन्न फलफूलहरु, गाजर, सखरखण्ड, उखु, मह आदि उपभोग गर्न सकिन्छ । त्यसैले एकछिनको मिठो भन्दा चिनीको तितो तथ्यलाई बुझेर हतोत्साही नभई आजैबाट यसको उपभोगलाई कम गर्दै लैजान सकियो भने भविस्यमा आइपर्ने जोखिम अनि दिर्घकालिन रोगबाट बच्न केहि हद सम्म भनेपनि कम गर्न सकिन्छ ।