११ वर्षपछि राष्ट्रिय प्रशारणमा जोडियो बझाङ

कार्तिक २०, २०७५ | बझाङ

बझाङ बहुप्रतिक्षित राष्ट्रिय विद्युत प्रशारण लाईनसँग जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले आजबाट बझाङमा राष्ट्रिय प्रशारण लाईनको नियमित सेवा प्रारम्भ गरेपछि लामो समयदेखि अन्धकारमा रहेको बझाङ तिहारको दोस्रो दिनबाट झिलिमिली भएको छ ।

नेपाल विद्युत प्राधिकरणले जिल्ला समन्वय समितिको गोलघरमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रशारण लाईनबाट विद्युत सेवा सञ्चालन गरेको जानकारी दिएको थियो ।

गत असोज १ बाट परीक्षण प्रशारण गर्ने र असोज १० गतेबाट नियमित सेवा दिने जानकारी दिइएको थियो । प्रशारण लाइन लामो भएको र नयाँ स्थापना भएको प्रशारण लाईनमा विभिन्न ठाउँमा प्राविधिक समस्या देखिएको कारण नियमित प्रशारण झण्डै एक महिना ढिलो भएको थियो । 

‘अब कतै समस्या छैन’ नेपाल विद्युत प्राधिकरणको बझाङ वितरण केन्द्रका प्रमुख राकेश भट्टले भन्नुभयो, ‘तिहारको अवसर पारेर बझाङ राष्ट्रिय प्रशारण लाइनमा जोडिएको खबर सुनाउन पाउँदा हामी हर्षित भएका छौ ।’ 

उहाँले नियमित मर्मत सम्भारको लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन समेत भइसकेको भन्दै अब उपभोक्ताले विद्युत अभावको समस्याबाट मुक्ति पाएको बताउनुभयो । 

पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य भैरब बहादुर सिंहले राष्ट्रिय प्रशारण लाईनमा जिल्ला जोडिएसँगै विकास र सम्भावनाको मुख्य ढोका खुलेको बताउनुभयो ।

आजसम्म विद्युत अभावमा कष्टपूर्ण दैनिकी भोगिरहेका स्थानीयको लागि यो निकै ठूलो खुशीको खबर भएको बताउँदै उहाँले भन्नुभयो, ‘अब उज्यालो मात्र हैन । सीप र जाँगर भएकाहरुलाई उद्योग व्यवसाय गर्ने मौका पनि आएको छ ।’ 

विद्युत अभावको कारणले लगानी गर्न डराउनु पर्ने अवस्थाको आजबाट अन्त्य भएको उहाँले बताउनुभयो । विद्युत सेवा नियमित भएसँगै यसले जिल्लामा लगानीको वातावरण बनाउने, यहाँका सम्भावनाहरु अवसरमा परिणत हुने र ऊर्जाको लागि भईरहेको वन माथि निर्भरता घटन गई वन संरक्षण हुने उहाँले बताउनुभयो । 

जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिएको खबरले सबै भन्दा बढी उद्योगी व्यवसायीहरुमा उत्साह छाएको छ । ‘केही उद्योग गर्न चाहानेहरुलाई पनि विद्युतको समस्याले हैरानी बनाएको थियो । अब यो समस्या हट्ने भयो’ एक जना युवा उद्यमी नरेन्द्र खड्काले भने ‘विद्युत आउने खबरले निकै खुशी लागेको छ ।’

‘विद्युत नियमित नभएका कारण थुप्रै उद्योगको सम्भावना भएर पनि यहाँ लगानी गर्नेहरु पनि डराइरहेको अवस्था थियो । कतिपयको लगानी समेत डुबेको छ’ बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले भन्नुभयो, ‘राष्ट्रिय प्रशारण लाईनमा जिल्ला जोडिएको खबरले सम्पूर्ण उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । बझाङमा ठूलो लगानी आउन सक्छ ।’

बझाङ सदरमुकाम र आसपासका गाउँहरुलाई विद्युत सेवा उपलब्ध गराउँदै आएको नेपाल विद्युत प्राधिकरणको सुर्मादेवी साना जलविद्युत आयोजना पटक पटक बिग्रन थालेपछि विद्युत अभावले स्थानीयले हैरानी खेप्दै आएका थिए । 

बैतडी जिल्लासम्म राष्ट्रिय प्रशारण लाइन २०६४ सालमा नै पुगेको थियो । बैतडीको खोड्पेबाट बझाङ सम्मको ८५ किलो मिटर ३३ केभी प्रशारण लाईन निर्माणका लागि झण्डै ११ वर्ष लागेको हो । २०६४ सालमा नै खोड्पे देखि बैतडीकै श्रीभावर सम्म २० किलोमिटर लाइन तान्ने काम सम्पन्न गर्न झण्डै ७ वर्ष लागेको थियो ।

२०७१ सालमा निर्माण शुरु भएको श्रीभावर बझाङको सेलाखेत सम्म ६५ किलोमिटर ३३ केभिए प्रशारण लाईन निर्माण  कार्य सम्पन्न भएपछि बझाङमा राष्ट्रिय प्रशारण लाईन पुगेको हो । 

स्थायी सव स्टेसन निर्माण नहुँदासम्म हाललाई एक सय केभिएका २ वटा ट्रान्सफर्मर मार्फत विद्युत वितरण गरिएको छ ।

हाललाई स्थानिय सुर्मादेवी जलविद्युत आयोजनाले विद्युत सेवा दिइरहेका उपभोक्ताहरुलाई मात्र राष्ट्रिय प्रशारण लाईनको विद्युत वितरण गरिने छ । सवस्टेसन निर्माण कार्य सम्पन्न भएपछि जिल्लाका अन्य स्थानीय तहमा विद्युत वितरणको काम थालिने प्राधिकरणले जनाएको छ ।

बझाङको बागथला र सेलाखेतमा निर्माणाधीन ३ एमबीए क्षमताका २ वटा सवस्टेसनको काम बैशाखसम्म सकिने र त्यसपछि अरु ठाउँमा विद्युत वितरण गरिने वितरण केन्द्र प्रमुख भट्टले बताउनुभयो ।

खप्तड छान्ना गाउँपालिकाका बाहेक जिल्लाका अरु ११ वटा स्थानीय तहमा पनि लाईन बिस्तार गर्ने काम भईरहेको उहाँको भनाई छ । 


प्रतिक्रिया