भिभोको वाई ०५ नेपाली बजारमा

चैत्र १०, २०८२ | काठमाडौं

चिनियाँ ब्राण्ड भिभोले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई ०५ सार्वजनिक गरेको छ । कम्पनीले आज एक कार्यक्रमका बीच सो स्मार्टफोन सार्वजनिक गरेको हो । 

सो फोनले विशेष गरी ब्याट्री क्षमता र टिकाउपनमा नयाँ मानक स्थापित गर्ने दाबी कम्पनीले गरेको छ । किफायती मूल्यमा शक्तिशाली फिचर खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै भिभोले यस पटक ब्याट्री प्रविधिमा ठुलो फड्को मारेको छ । 

सो स्मार्टफोनमा ६५०० एमएएच क्षमताको ’ब्लुभोल्ट’ ब्याट्री जडान गरेको छ । कम्पनीका अनुसार सो ब्याट्री ५ वर्षसम्म पूर्ण रूपमा स्वस्थ रहने गरी डिजाइन गरिएको छ । फोनको सुरक्षा र टिकाउपनका लागि यसमा आईपी ६५ रेटिङ दिइएको छ । 

साथै, भौतिक क्षति कम गर्न फोनमा ’प्रोफेसनल एन्टी–ड्रप’ डिजाइन प्रयोग गरिएको छ । यसमा १२० हर्जको रिफ्रेस रेटसहितको स्मूथ स्क्रिन, १२०० निट्सको पिक ब्राइटनेस राखिएको छ भने २०० प्रतिशतसम्म भोल्युम बढाउन मिल्ने ’बूस्ट’ फिचर थपिएको छ ।

 भिभो वाई ०५ नेपाली बजारमा दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको मोडलको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य १९ हजार ४ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । 

यो फोन आगामी मार्च २५, २०२६ देखि देशभरका आधिकारिक रिटेल स्टोरहरू र अनलाइन सपिङ पोर्टल दाराजमार्फत खरिद गर्न सकिनेछ । 


प्रतिक्रिया