यो वर्ष ३ प्रतिशतले घट्यो धान रोपाइँ 

श्रावण २१, २०७६ | काठमाडौं

यस वर्ष धान रोपाइँमा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष धान रोपाइँमा ३ दशमलव ६२ प्रतिशतले घटेको कृषि विभागले जनाएको छ ।

कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरले सार्वजनिक गरेको यही साउन १८ गते सम्मको तथ्याङ्क अनुसार वर्ष मुलुकभर ८६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा मुलुकभर ८९ दशमलव ६२ प्रतिशत रोपाइँ भएको थियो ।

यो वर्ष सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९५ दशमलव ३३ प्रतिशत रोपाइँ भएको छ । यद्यपि, गत आर्थिक वर्षको तुलनामा सुदूरश्चिम प्रदेशमा यो वर्ष ३ दशमलव ६७ प्रतिशत कम रोपाइँ भएको कृषि विभागले जनाएको छ । 

यो वर्ष कर्णाली प्रदेशमा ९४ दशमलव १० प्रतिशत, प्रदेश ५ मा ८८ दशमलव ८६, प्रदेश ३ मा ८८ दशमलव ६७, गण्डकीमा ८६ दशमलव ५९, प्रदेश २ मा ८१ दशमलव ९९ र प्रदेश १ मा ८० दशमलव १३ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष कर्णाली प्रदेशमा ९१ दशमलव ५५, प्रदेश ५ मा ९१ दशमलव ३८, गण्डकी ९६ दशमलव ५१, प्रदेश ३ मा ८१ दशमलव ३६, प्रदेश २ मा ८४ दशमलव ४६ र प्रदेश १ मा ८६ दशमलव २९ प्रतिशत रोपाइँ भएको थियो । 

प्रदेश २ मा भने बाढीले खेतीयोग्य जमीन कटान गरेका कारण रोपाइँमा केही कमी आएको विभागले जनाएको छ । धान रोपाइँ हुने मुलुकभरका कुल १३ लाख ७१ हजार ७ सय ६ मध्ये यो वर्ष ११ लाख ७९ हजार ६ सय ८८ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्याङक छ  ।


प्रतिक्रिया