हात्तीको स्वादिलो खान्की भेली र चना (फोटोफिचर)

सबै तस्बिर : रमेशकुमार पौडेल/रेडियो कान्तिपुर ।  

श्रावण ३२, २०७८ | चितवन

हरियो घाँस हात्तीले औधी रुचाउँछ । त्यसमाथि भेली र चना । यो त उनीहरुका लागि निकै स्वादिलो खान्की भइहाल्यो । माहुत अर्जुन क्षेत्री पुनमकली हात्तीका लागि हरियो घाँसमा एक मुठ्ठी चनाको दाना र एउटा सानो डल्लो भेली राखेर बेर्दै थिए । आडैमा मस्तसँग बसेको पुनमकली हतारिँदै त्यो डल्लो तान्दथ्यो । यसरी बनाएको घाँसो डल्लोलाई कुची भनिन्छ । ठाउँ ठाउँमा माहुतहरु यसरी कुची बनाउन व्यस्त थिए । 

सबै तस्बिर : रमेशकुमार पौडेल/रेडियो कान्तिपुर ।

पुनमकली भन्दा दुई सय मिटर जति पर थियो ३० वर्षको अर्को हात्ती एकताकली । सो हात्तीको ६० वर्षीय माहुत नन्दलाल साह हात्तीको शरीरमा फुलबुट्टा कोर्दै रंगिन चक र अबिरले रंङ्ग भर्दै थिए । शरीर र निधारमा फूलबुट्टा नभएका कुनै हात्ती थिएनन् त्यहाँ । सिंगारिएका हात्तीहरुले स्वाद मानीमानी हरियो घाँसमा बनाएको धान, भेली र चना भरिएको कुची चपाइ रहेका थिए । 

दशौं विश्व हात्ती दिवसको सन्दर्भ पारेर गत बिहीबार चितवन सौराहा नजिक कुमरोजमा हात्तीका लागि विशेष कार्यक्रम भयो । कुमरोज मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना भएको कार्यक्रममा सौराहा आउने पर्यटक बोकेर जंगल डुल्ने अधिकांस हात्ती सामेल थिए । चितवन निकुञ्ज घुम्न आउने अधिकांस पर्यटक हात्ती सफारी अर्थात हात्ती चढेर जंगल घुम्छन् । चितवनको पर्यटनको अभिन्न अंग हात्ती नै भएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताउनुभयो । सफारीमा प्रयोग हुने प्राय हात्तीहरु सहकारीमा आवद्ध छन् । 

सहकारी बाहिरका ६ वटा जति हात्ती पनि सफारीमा प्रयोग भएका छन् । सहकारीमा ५५ वटा हात्ती थिए । अहिले ३३ वटा भएका छन् । तिवारीले भन्नुभयो, ‘कोरोनाका कारणले पर्यटक नआउँदा केही हात्तीहरु बेचबिखन भए । भाडामा ल्याएका हात्ती फिर्ता भए । त्यसैले घटेका हुन् ।’ कोरोनाका कारण पर्यटन सुस्ताउँदा १५ देखि १८ वटा जति हात्ती बिक्री भएर भारत पुगेको पर्यटन व्यवसायीहरु बताउँछन् । अहिले पनि पर्यटन फस्टाउन सकेको छैन । हात्तीलाई दाना खुवाउन र स्याहार गर्ने कर्मचारी पाल्नै धौ धौ हुने गरेको गुनासो पर्यटन व्यवसायीहरुको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो, ‘हात्ती संरक्षण गर्नुपर्ने जनावर हो । यो जमिनमा पाइने ठूलो जीव त हो नै यो निकै बुद्धिमान र संवेदनशील हुन्छ । यसको शील स्वभाव बुझेर यसलाई त्यही अनुसारको व्यवहार गरेर विभिन्न काममा प्रयोग गर्न सकिन्छ ।’


प्रतिक्रिया