चाडपर्वको खर्च जुटाउन हरिया जुनार बजारमा (फोटोफिचर)
कार्तिक १४, २०८१ | सिन्धुली
बीपी राजमार्ग भएर आवतजावत गर्नेको जो सुकैको नजर पनि चाडपर्वका लागि जुनार सुन्तलामा नजर पर्छ । जुनारको राजधानी भनेर चिनिने सिन्धुलीको महाभारत क्षेत्रका गोलन्जोर, फिक्कल, सुनकोसी गाउँपालिका र कमलामाइ नगरपालिकाको वडा नं ३ बाट बजारमा आउने जुनार पाक्ने सिजन मंसिर १५ देखि हुने भएप्नि चाडपर्वमा हुने खर्च धान्नको लागि किसानले सिजन पहिले नै हरियो जुनार बिक्री सुरु गरेका छन् । तिहार, छठ लगायतका चाडपर्व धान्नका लागि किसानले हरियो जुनार विक्री गरेका हुन् ।
थोरै परिमाणमा फल दिने बोट हुने किसानको चाडपर्वमा हुने खर्च जुटाउन लागि जुनार भरपर्दो वन्दै आएको छ । घर वरिपरि बारीमा पाँच सात बोट जुनार हुनेले चाडपर्वलाई लक्षित गरी खर्च जुटाउन सिजन पहिले नै हरियो जुनार बजारमा पु¥याई बिक्री गरि रहेका छन् ।
पहेंलपुर भएर दाना परिपक्क भएपछि बजारमा लैजानु पर्ने जुनार हरियोमा नै विक्री गर्दा व्यवसायिक असर पर्ने गुनासो समेत छ ।
खर्च जुटाउने अन्य आम्दानीको स्रोत नभएपछि हरियो जुनार विक्री गर्नुपर्ने बाध्यता रहेको किसानहरुको भनाइ छ । चाडपर्व सबैलाइ आउने र रमाइलो गर्न खर्च चाहिने भएकाले हरियो जुनार विक्री गर्नुपरेको गोलन्जोर गाउँपालिका ४ तीनकन्याका किसान लोकबहादुर आलेमगरले बताए ।
हरियो नपाकेको जुनार नै बजारमा यतिखेर व्यापारीले प्रतिकेजी एकसय रुपैयाँसम्ममा बिक्री गरि रहेका छन् । सिन्धुलीको जुनार कोसेलीको रुपमा देशका विभिन्न सहरमा पु¥याएर कमाएको लोकप्रियता काँचो जुनारले उल्टै बद्नाम हुने चिन्ता थपिएको व्यवसायिक किसानको गुनासो छ ।
गत आर्थिक वर्ष जिल्लामा १३९० हेक्टर क्षेत्रफलमा जुनार खेती भएकोमा ७३५ हेक्टर उत्पादनशील बगैँचाहरुबाट ९४४५ मेट्रिक्टन जुनार उत्पादन भएको थियो ।