प्रधान सेनापतिद्वारा अन्तिम पूर्वाभ्यास निरीक्षण (तस्बिरहरु)

फाल्गुन १३, २०८१ | काठमाडौं
नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८१ को अन्तिम पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रधान सेनापति अशोक राज सिग्देलले सो कार्यक्रमको पूर्वाभ्यास निरीक्षण गर्नु भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।



कार्यक्रममा उहाँले चरक बाहिनीलाई युनिट झण्डा प्रदान र केन्द्रीय तहको युद्धकार्य तयारीपन निरीक्षण–२०८१ मा सर्वोत्कृष्ट भएको मध्य पूर्वी पृतनालाई पुरस्कृत गर्नु भएको छ । सो अवसरमा उहाँले प्रकृति संरक्षण ट्रफि प्रतियोगिता अन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण र ढोरपाटन सिकार आरक्ष सुरक्षार्थ तैनाथ देवीबक्स गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।




त्यस अवसरमा प्रधान सेनापति सिग्देलले सेना दिवसको उपलक्ष्यमा प्रधान सेनापति प्रशंसा निशान प्राप्त गर्नुहुने रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नु भएको थियो । साथै मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



कार्यक्रममा प्रधान सेनापतिले अवकाश पश्चात् पनि विभिन्न तवरबाट समाजमा पुर्याएको योगदानको कदर स्वरुप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत पुरस्कृत गर्नु भएको थियो । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्षको सेना दिवस–२०८१ फागुन १४ गते महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ । सो कार्यक्रममा नेपाली सेनाका साथै संयुक्त राज्य अमेरिका, बेलायत र भारतीय सेनाका व्याण्ड टोलीबाट संयुक्त साङ्गीतिक प्रस्तुति हुने जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।