पाल्पामा उत्पादित च्यवनप्रासले पाएर बिक्रीको अनुमति

माघ ५, २०८१ | पाल्पा
बजारमा बिक्री गर्ने अनुमति नपाएपछि पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा तीन वर्षदेखि उत्पादन हुँदै आएको च्यवनप्रासले व्यवसायिकता पाउन सकेको छैन । गाउँपालिकाको सहयोगमा नागरिक आरोग्य केन्द्रले वडा नम्बर–१ हुँगीमा यसवर्ष ७ सय ५० केजी उत्पादन गरेको छ । अमला, हर्रोबर्रो लगायत स्थानीय सामग्री प्रयोग गरी अर्गानिक तरिकाले बनाएको च्यवनप्रास आधा केजीको डिब्बामा प्याकिङ गरिएको छ । तर, बिक्री गर्ने अनुमति पाउन नसक्दा भने यसलाई व्यवसायिक बिस्तार गर्न नसकिएको रम्भा–१, हुँगीका वडाध्यक्ष इश्वर प्रसाद काफ्लेले बताउनुभयो ।



गुणस्तर परीक्षणका साथै ब्राण्डिङ लगायतमा यहाँ उत्पादन भएको च्यवनप्रासमा समस्या भएको हो । तीन वर्षदेखि उत्पादन हुँदै आएको च्यवनप्रास गाउँपालिकाभित्र सीमित बनेको छ । स्थानीय तहले ज्येष्ठ नागरिक सम्मानका नाममा बजारमा केमिकल मिसाएका च्यवनप्रास वितरण गर्दै आएका छन् । तर, रम्भामा अर्गानिक ढंगले उत्पादन गरेको च्यवनप्रास भने बिक्री गर्ने अनुमति नपाएको गुनासो छ ।



गाउँपालिकाले उत्पादन गरेको च्यवनप्रास अर्गानिक हो भने पोषिलो समेत रहेको दाबी छ । स्थानीय जडीबुटी प्रयोगबाट गाउँमै निर्माण भएको च्यवनप्रास ज्येष्ठ नागरिक र अपांगता भएकालाई फाइदाजनक समेत हुन्छ । तीन वर्षदेखि सुरु च्यवनप्रास निर्माणले यस वर्ष पनि निरन्तरता पाएको वडाध्यक्ष काफ्लेले बताउनुभयो । गाउँपालिकाले नर्ससहित ज्येष्ठ नागरिक, अपांगता भएकाको घरमा पुगेर स्वास्थ्य जाँच गर्ने र च्यवनप्रास वितरण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताउनुभयो ।



गाउँपालिकाको स्वास्थ्य शाखा र नागरिक आरोग्य केन्द्रले स्थानीय उत्पादनलाई प्रोत्साहन दिन गाउँघरमै उत्पादन हुने अमला, मह, खुदो, घ्यु लगायतबाट च्यवनप्रास बनाएको गाउँपालिकाका नागरिक आरोग्य केन्द्र रम्भाका प्रमुख मिलन आचार्यले बताउनुभयो । गाउँमै स्थानीय ४४ प्रकारका जडीबुटी संकलन गर्न लगाई खरिद गरी च्यवनप्रास उत्पादन गरेको उहाँको भनाई छ ।