बझाङमा पहिरोले घर भत्किदा नाबालकको मृत्यु, दुई घाईते

श्रावण २७, २०७५ | बझाङ

बझाङमा पहिरोले घर भत्किँदा एक महिने नाबलकको मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका ३ मैतोलीको रतन ढुङ्गाका मकर विष्टका छोरा एलिस विष्टको मृत्यु भएको हो । आईतबार बिहान घर माथिबाट खसेको पहिरोलेले विष्टको दुई तले पक्की घर भत्काएको थियो ।

घर भत्किँदा अरु दुई बालबालिका घाइते भएका छन् । पहिरोले घर भत्किँदा भित्र सुतिरहेका नाबालकको पुरिएको घटना स्थलमा नै मृत्यु भएको हो । अर्काे कोठामा खेलिरहेका ४ वर्षीया संगीता विष्ट र २ वर्षीया धौली विष्ट घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोले विस्टको घरको एकातर्फको आधा भाग भत्काएको थियो । पहिरोमा परेका बालिकाहरु भने अर्काे तर्फको कोठामा रहेका कारण सामान्य घाइते भएका छन् । उनीहरु दुबैको उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

बैशाख महिना यता बझाङमा पहिरोमा परी १५ जनाले ज्यान गुमाई सकेका छन् । हाल सम्म थलारा गाउँपालिकाका एकै परिवारका ४ जान सहित ७ जना, यस्तै जयपृथ्वी नगरपालिकाको जयपृथ्वी राजमार्गमा पहिराले जिप बगाउँदा ३ जना, खप्तड छान्ना गाउँपालिकाको बयानाका एकै परिवारका ३ सहित ४ जना गरी १५ जनाको मृत्यु भएको छ ।

यी मध्ये अधिकांशले जथाभावी निर्माण गरेका ग्रामीण सडकबाट खसेको पहिरोमा परी ज्यान गुमाएका थिए । गत हप्ताको आइतबार देखि लगातार झरी परिरहेकाले जिल्लामा बाढी पहिरोको त्रास कायमै छ । 


प्रतिक्रिया