नेपालमा पहिलो पटक ईभी प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १६, २०८२

नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने औपचारिक कार्यक्रम पहिलो पटक सञ्चालन हुने भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र स्वीजरल्याण्डको इटिएच ज्युरिकसंगको संयुक्त पहलमा चलिरहेको शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाखा इम्प्लिमेन्टिङ ल्याब (आईल्याब–२०२५) कार्यक्रमअन्तर्गत वागमती प्रदेशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (पीसीटीभीईटी) र नेपाल उद्योग परिसंघ लगायत निजी क्षेत्रसंगको सहकार्यमा सो पहल अगाडि बढेको हो । 

शंखरापुर बहुप्राविधिक शिक्षालय, शंखरापुरमा आवश्यक पूर्वाधार पूरा गरी समयसापेक्ष बजारको माग अनुरुप युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो प्रक्रिया शुरु गरिएको हो । स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा शुरु भएको ईभी प्रशिक्षणलाई औपचारिक रूपमा सञ्चालन गर्ने नेपालमानै पहिलो प्रयास भएको आइल्याव वागमती प्रदेश काठमाडौंका संयोजक रमेश दुलालले बताउनुभयो । युवाहरुको लगनशीलता, अन्य नगरपालिकाका युवामा देखिएको आकर्षण, निजी क्षेत्रका सुझाव तथा प्रदेश, स्थानीय तह, निजी क्षेत्र र प्राविधिक शिक्षालयको संयुक्त साझेदारीका कारण यो कार्यक्रमलाई औपचारिक रुप दिन प्रक्रिया अगाडि बढेको संयोजक दुलालको भनाइ छ ।

आइल्याब अन्तर्गत शुरुमा ईभि तालिमका लागि छोटो अवधिको ३ सय ९० घण्टाको तालिम गोकर्णेश्वर नगरपालिकाका २५ जना युवालाई दिइएको थियो । तालिममा सहभागी सबैले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । तर सो अवधिको तालिम सैद्धान्तिक रुपमा मात्र समेटिएको र पर्याप्त प्रयोगात्मक गतिविधि नभएको भन्दै तालिममा सहभागी प्रशिक्षार्थीले गुनासो गर्दै आएका थिए । सोही गुनासोलाई आधार मान्दै थप युवाहरूको मनोभावना बुझ्न गोकर्णेश्वर र शंखरापुर नगरपालिकामा सर्वेक्षण गर्दा छोटो समयमै ठूलो संख्यामा युवाहरूले ईभी प्रशिक्षणमा रुचि व्यक्त गरेका थिए । 

गोकर्णेश्वर नगरपालिकामा मात्र १ सय बढी युवाले फाराम भरेको नगरपालिकाका शिक्षा अधिकृत एवं आईल्याब काठमाडौं समुहकी सदस्य सरिता शर्माले बताउनुभयो । औपचारिक कार्यक्रम अन्तर्गत कम्तीमा १८ महिनाको प्रि डिप्लोमा कार्यक्रमको प्रक्रिया अघि बढेको जनाइएको छ । पचारिक तहको ईभी पाठ्यक्रम निर्माण प्रक्रियाका लागि निजी क्षेत्रका प्रतिनिधि अन्तर्गत नेशनल भोकेशनल क्वालिफिकेसन फ्रेमवर्क अन्तर्गतको सेक्टर स्किल्स कमिटिकीका सदस्य दिपेश पौडेलले बताउनुभयो ।

नेपालमा व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका ईभी सवारी साधनको आयात र बिक्री बढिरहे पनि प्राविधिक जनशक्ति उत्पादन गर्ने व्यवस्थित पहल यस अघि नभएको कमिटीका सदस्य पौडेलले बताउनुभयो । उहांले भन्नुभयो, ईभी बजारमा दक्ष प्राविधिकको अभाव छ, जसले गर्दा यो क्षेत्रमा रोजगारीका अवसरहरू बढ्दै गए पनि युवाहरूले पर्याप्त प्रशिक्षण पाउन सकेका थिएनन् । शंखरापुर बहुप्राविधिक शिक्षालयमा शुरु गर्न लागिएको यो कार्यक्रमले यही कमी पूरा गर्ने अपेक्षा गर्न सकिन्छ ।

सीटीईभीटीको आंगिक शिक्षालय शंखरापुर बहुप्राविधिक शिक्षालयमा ल्याब स्थापनाका लागि शिक्षालयले लागत अनुमान तयार पारिसकेको छ । लागत साझेदारीका लागि पीसीटीभीईटीमार्फत काठमाडौंको गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई पत्राचार गरिसकिएको जनाइएको छ । सबै पक्षबाट आसन्न निर्वाचनपछि साझेदारी बजेटसहित प्रतिबद्धता पत्र पठाउने जानकारी आएको पीसीटीभीईटीका प्रमुख कार्यकारी निर्देशक एवं आईल्याब वागमती प्रदेश, काठमाडौंकी सदस्य शान्ती लामाले बताउनुभयो । 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख एवं आईल्याब वागमती प्रदेश, काठमाडौंका सदस्य दिपक कुमार रिसालले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा ईभी ल्याब स्थापनाका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी, निजी क्षेत्र अन्तर्गतको नाडाको सचिवालयले इमेल मार्फत शंखरापुर बहुप्राविधिक शिक्षालयमा भएको औपचारिक ईर्भ पढाई बजारको मागअनुसार सान्दर्भिक भएको र निजी क्षेत्रको प्राथमिकतासँग मेल खाएको जनाएको छ । नाडाले ईभी व्यवसायीहरूबाट लागत साझेदारी सम्भव हुने समेत जनाएको छ ।

औपचारिक ईभीको पहललाई प्रदेश सरकारले समेत सकारात्मक रुपमा लिएको छ । वागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारीले प्राविधिक तथा व्यावसायीक शिक्षा एवम् तालिम क्षेत्र प्रदेशको प्राथमिकतामा रहेकाले ईभी क्षेत्रमा रोजगारी सिर्जना गर्न युवाहरुलाई दक्ष बनाउने र यसका लागि सीटीईभीटीसँग पाठ्यक्रम तयारी लगायत प्रक्रियामा प्राविधिक सहयोग लिने योजना रहेको बताउनुभयो । यो कार्यक्रमले नेपालमा ईभी क्षेत्रको विकासलाई गति दिनुका साथै युवा बेरोजगारी घटाउने अपेक्षा गरिएको छ। निजी क्षेत्रको सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।


प्रतिक्रिया