पहिरोमा चुनौतिपूर्ण काम गर्दै स्काभेटर चालक मुना घिमिरे

श्रावण ३२, २०७७ | रसुवा

तल बेजोडले बग्दै गरेको भोटेकोशी नदी । माथि आंङ नै सिरिङग बनाउने खालको ठाउँ ठाउँमा गएको पहिरो । यो दृश्य हो स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डको । यो सडकखण्ड चीनसंगको अन्तराष्ट्रिय रसुवागढी नाका जोड्ने सडक हो । यस सडकखण्डमा दिनहुं पहिरो झरिरहन्छ । पहिरोले अवरुद्ध पारेको सडक पन्छाउने क्रममा स्काभेटर चालक देखेर सो सडक हुंदै हिंड्ने मानिसहरुको एक पटक सबैको ध्यान आकृष्ट हुन्छ ।

 स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डमा स्काभेटर चलाउने महिला चालक देखेर अचम्म मान्नु स्वभाविक नै हो । सो सडकखण्डको पहिरो पन्छाउने कामको जिम्मा सडक विभागको हेभी इक्युपमेन्ट चालक अर्थात स्काभेटर चालक मुना घिमिरेले पाएकी छन् । साउन १० गते देखि उनी स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डमा झरेको पहिरो पन्छाउने काममा निरन्तर खटिरहेकी छिन् । 

उनी नेपालकै पहिलो महिला स्काभेटर चालक पनि हुन् । साहसिक पुरुषले समेत सामान्य अवस्थामा चलाउन डर मान्ने स्काभेटर उनी पहिरोमा निर्धक्क साथ हेभी इक्युपमेन्ट स्काभेटर चलाउछिन् । हिजो आज उनी बिहानै देखि सांझ सम्म पहिरो पन्छाउने काममा निरन्तर व्यस्त रहन्छिन् । पहिरोमा स्काभेटर चलाउंदा मनमा कता कता डर लाग्ने उनि सुनाउछिन् । 

वर्षाको समय माथि ठुला–ठुला भिर छ जतिबेला पनि पहिरो झर्न सक्छ । तर गरेको काम सफल भएपछि मनबाट डर भाग्छ उनी भन्छिन डर भन्दा पनि कर्तव्य पालना गर्न पर्ने बोझ हुन्छ । अघिपछि जस्तो सामान्य छैन मुना घिमिरे सुनाउछिन् यस्तो पहिरोमा मेसिन चलाउने काम निकै चुनौतिपूर्ण छ । उनी भन्छिन् यो सडक अन्तराष्ट्रिय नाका जोड्ने सडक हो अवरुद्ध हुने बित्तिकै राज्यलाई करोडौं नोक्सान हुन्छ । त्यसैले बर्षा याममा बाढी र पहिरोका कारण जतिसुकै बेला सडक अवरुद्ध हुने भएकाले सडक खुलाउन तत्पर रहेर बस्न पर्छ उनी सुनाउछिन् । घिमिरेले २०५६ सालदेखि स्काभेटर चलाउन थालेकी हुन् । 

२०६७ सालमा ज्यालादारीमा सरकारी सेवामा प्रवेश गरे पनि स्थायी भएको करिब ६ वर्ष भयो । उनी महिला कोटामा भन्दा पनि खुल्ला प्रतिष्पर्धाबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन् । त्यसअघि उनी प्राइभेट कम्पनिमा काम गर्दथिइन् । नेपालमा स्काभेटर चलाउने महिलाहरुको संख्या निकै कम रहेको उनी बताउंछिन् । महिला कोटामा प्रतिष्पर्धा गर्न कोही पनि नआउने भएकाले वर्षेनी सो कोटा त्यत्तिकै खेर जाने गरेको मुनाको भनाई छ । हामीमा साहस भयो भने गर्न नसक्ने भन्ने काम केही छैन । कोही पनि विदेश जान पर्दैन नेपालमा जति भने पनि काम पाइन्छ । सबै दिदी बहिनीहरुलाई काम ठुलो सानु नभनिकन गर्न अनुरोध गर्दछिन् । 

तनहुँको आबुंखैरेनीमा जन्मेकी मुना घिमिरे नेपालगञ्ज पुगेर स्काभेटर चलाउन सुरु गरेकी हुन् । उनले लामा स्वदेश निर्माण सेवा कम्पनीबाट स्काभेटर चलाउन सिकेकी हुन् । उनी तेतिबेला ९ कक्षा पढ्दा पढ्दै छोडेर हिंडेकी हुन् । मुनाको संघर्षको कथा लामो छ । मुनाको परिवारमा दुई जना छोरी मात्रै थिए । छोरा नभएको परिवारलाई समाजले हेर्ने दृष्टिकोण नै फरक थियो उनी सुनाउंछिन् । समाजलाई देखाउन पनि छोराले गर्ने मध्येको चुनौतीपूर्ण काम रोज्न मन लाग्यो । 

त्यसैले समाजले छोरा र छोरीलाइ गर्ने विभेद आफुले देखेको र भोगेको कारण आफुलाई स्काभेटर चलाउने प्रेरणा मिलेको उनी बताउंछिन् । स्काभेटर चलाउन जाने पनि जागिरको लागि निकै संघर्ष गर्न परेको कथा उनको मन भित्र गुम्सिएर बसेको छ । सुरु सुरुमा यस्ता महिलाले पनि मेसिन चलाउंछे भनेर कसैले पनि विश्वास गरेन्न । छिनेको चप्पल लगाएर काठमाडौंका सहरमा धेरै ठाउंमा डुलेको स्मरण उनले गराइन् । 

जागिरको लागि प्राइभेट कम्पनीमा जांदा मानिसहरु तलदेखि माथिसम्म हेरेर हांस्थे घिमिरे भन्छिन् । लामो समयसम्म स्काभेटर चलाए पनि लाइसेन्स बनाउन भने धेरै दुख भोग्न परेको उनले सुनाइन् । लाइसेन्स लिने प्रक्रिया नै झन्झटिलो छ उनि भन्छिन् । उनले २०६२ मा चार पाङग्रे र २०६४ मा स्काभेटरको लाइसेन्स लिएकी हुन् ।

सरकारी सेवामा प्रवेश गरेपछि पढाइ नै ठुलो कुरा रहेछ भन्नेकुरा आफुले थाहा पाएको उनले सुनाइन् । पढाइ छोडेको १५ वर्ष पछि २०६९ सालमा उनले ५६.८८ प्रतिसत ल्यएर एसएलसी पास गरेकी हुन् । अहिले उनले व्याचलर पुरा गरेकी छिन् । उनको श्रीमान भने मुना एण्ड राज कन्ट्रक्सन प्रालि दर्ता गरेर काम गरिरहेका छन् ।  


प्रतिक्रिया