दिल्ली क्यापिटल्ससँग पञ्जाव ५ विकेटले पराजित

रेडियो कान्तिपुर संवाददाता

वैशाख ८, २०७६ | काठमाडौं

ईण्डियन प्रेमियर लिग क्रिकेट आईपीएलको पछिल्लो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गएराति भएको खेलमा उसले किङ्स एलाभेन पञ्जावलाई ५ विकेटले पराजित गर्‍यो । पञ्जावले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले २ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो ।

जितपछि १२ अंक भएको दिल्ली दोस्रो स्थानको मुम्बई इण्डियन्ससँग समान अंक भएपनि रनरेटमा एक स्थान तल छ । १४ अंकमा चेन्नई सुपर किङ्स शीर्षमा छ । 

क्याप्टेन श्रेयस ऐयर र शिखर धवनले दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेपछि दिल्ली छैठौं जित निकाल्न सफल भयो । ऐयर ५८ रनमा नटआउट रहे भने धवनले ५६ रन बनाए । यसअघि नेपाली लेग स्पीनर सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिएपछि पहिले व्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

सन्दिपको बलमा क्याचआउट हुनु अघि क्रिस गेलले ३७ बलमा ६९ रन बनाए भने मन्दिप सिंहले ३० रन जोडे । आफ्नो स्पेलमा ४० रन खर्चेर सन्दीपले ३ विकेट लिए । कागिसो राबाडा र अक्षर पटेलले समान २ विकेट लिए । 

हिजै भएको पहिलो खेलमा राजस्थान रोएल्सले मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गर्‍यो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै भेट्टायो । स्टेभन स्मिथको कमानीमा मैदान उत्रिएको राजस्थानको यो तेस्रो जित हो । 

आईपीएलमा आज कोलकात्ता नाईट राईडर्स र सनराईजर्स हैदरावाद तथा चेन्नई सुपर किङ्स र रोएल च्यालेन्जर्स बैंङ्लोरबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया